नेपियरमा तापक्रम ३७.१ डिग्री सेल्सियस मापन गरिएको छ। नेपियरको छिमेकी सहर हेस्टिङ्समा पनि तापक्रम ३७ डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ।

मौसम विभागका अनुसार हेस्टिङ्समा दिउँसो अधिकतम ३७ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२५ मा कावेराउमा रेकर्ड गरिएको ३५.६ डिग्रीभन्दा बढी हो।

हेस्टिङ्सका उपमेयर माइकल फाउलरले अत्यधिक गर्मीबाट जोगिन नागरिकलाई आग्रह गर्दै घाममा धेरै समय नबस्न, प्रशस्त पानी पिउन तथा छिमेकी र घरपालुवा जनावरको ख्याल गर्न अनुरोध गर्नुभएको छ। जिल्लाले गर्मीलाई मध्यनजर गर्दै टे माटा पार्क बन्द गर्नुका साथै आगो लाग्न सक्ने गतिविधि नगर्न निर्देशन दिएको छ।

तातो मौसमसँगै देशका विभिन्न भागमा तीव्र गतिको हावाको चेतावनी पनि जारी गरिएको छ। विशेषगरी दक्षिण टापु र वेलिङ्टन क्षेत्रमा भारी वर्षा र हुरी चल्ने सम्भावना छ। न्यूजिल्याण्ड ट्रान्सपोर्ट एजेन्सी (NZTA) ले तेज हावाका कारण दक्षिण टापुका विभिन्न राजमार्गमा ढलेका रूख हटाउने काम भइरहेको जनाएको छ।

फायर एन्ड इमर्जेन्सीले बाहिर आगो बाल्ने वा झिल्का निस्कन सक्ने गतिविधि नगर्न तथा पहिले बालिएको आगो पूर्ण रूपमा निभाएको सुनिश्चित गर्न चेतावनी दिएको छ। मौसमविद्हरूले अत्यधिक गर्मी र खराब मौसमका कारण सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।