परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट हटाएर विकास, प्रविधि र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल–भारत सम्बन्धलाई पुरानो राजनीतिक दृष्टिकोणभन्दा माथि उठाएर विकास कूटनीतिको नयाँ मोडेलमा अघि बढाउन चाहेको स्पष्ट गर्नुभयो। उहाँले वर्तमान सरकार परिणाममुखी कूटनीतिमा केन्द्रित रहेको उल्लेख गर्दै सुशासन र जनतामुखी विकासलाई प्राथमिकता दिइएको बताउनुभयो।

मन्त्री खनालले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको भेटवार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत तथा सीमा–पार सम्पर्क विस्तारका विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार दुवै देशबीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ, जसले नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण भएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक पुनर्निर्माण परियोजना हस्तान्तरण गरिएको तथा काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच डिजिटल भाषा अनुवाद प्रविधि विकासका लागि सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले नेपालले विगतका राजनीतिक बोझबाट मुक्त भएर नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल–भारत सम्बन्धलाई २०औँ शताब्दीको भू–राजनीतिक दृष्टिकोणबाट नभई २१औँ शताब्दीको विकास, प्रविधि र आर्थिक रूपान्तरणको साझेदारीका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो।

सीमा क्षेत्रमा लागू गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले उक्त व्यवस्था सीमावर्ती नागरिकलाई असर पार्न नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो।

उहाँले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धनमा जोड दिनुभयो।

भारतका विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जानुभएको हो।