नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ। चन्द्रागिरीमा आयोजित उक्त बैठकले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार स्थापना गरिएको परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा अघि बढाइएको हो।
बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र (बीटुबी) सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा विस्तृत छलफल गरेका थिए। सहभागीहरूले नेपाल–कतार आर्थिक सम्बन्धलाई दीर्घकालीन, परिणाममुखी र पारस्परिक लाभमा आधारित बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपाली पक्षले लगानीमैत्री वातावरण सुदृढ गर्न कानुनी सुधार, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनमा सरकार केन्द्रित रहेको जानकारी दिएको छ। ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन तथा सूचना प्रविधि लगायतका क्षेत्रमा कतारी लगानीका लागि विशेष आग्रह गरिएको थियो। साथै, नेपाली व्यवसायीहरूलाई पनि कतारको सेवा क्षेत्र, पर्यटनसम्बद्ध उद्योग, सीप विकास तथा साना–मझौला उद्यममा अवसर खोज्न प्रोत्साहन गरिएको छ।
कतारी प्रतिनिधिमण्डलले नेपालमा लगानीको वातावरणप्रति सकारात्मक धारणा राख्दै प्रत्यक्ष व्यावसायिक सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाएको छ। उनीहरूले नेपालमा विविध क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै सहकार्यलाई ठोस योजनासहित अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिषद्को पहिलो बैठकले नेपाल–कतार आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्द्धनमा महासंघ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। साथै, निजी क्षेत्र–निजी क्षेत्र सहकार्य र सरकार–निजी क्षेत्र संवादमार्फत लगानी प्रक्रिया सहज बनाइने उल्लेख गर्नुभयो।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य तथा प्रतिनिधिमण्डल प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण सुनिश्चित भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताउनुभयो। उहाँले परिषद्को भूमिकालाई अझ प्रभावकारी बनाउँदै सहकार्यका प्राथमिक क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिनुभयो।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता विस्तार गर्न सकारात्मक वातावरण सिर्जना गरेको उहाँको भनाइ थियो।
नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री, संस्कृति–पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग भेटवार्ता गरेको थियो। भेटमा द्विपक्षीय लगानी प्रवर्द्धन, व्यापार विस्तार, हवाई कनेक्टिभिटी तथा सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
परिषद्को पहिलो बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत आधार प्रदान गर्दै आगामी दिनमा व्यापार, लगानी र प्रत्यक्ष साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। —न्युज एजेन्सी नेपाल
