काठमाडौं — आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। पार्टी सभापतिमा गगन थापा चयन भएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन्।
महाधिवेशनबाट महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्। बुधबार बिहान उम्मेदवारी दर्ताका क्रममा महामन्त्री पदमा उनीहरूकै मात्र उम्मेदवारी परेपछि सर्वसम्मत रूपमा चयन भएको हो।
त्यसैगरी सहमहामन्त्री पदमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार बोलाइएको विशेष महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै नयाँ अध्यायको सुरुवात गरेको कांग्रेस नेताहरूले बताएका छन्।
नवचयनित नेतृत्वको औपचारिक घोषणा केहीबेरमा महाधिवेशन हलबाट गरिने जनाइएको छ।


