काठमाडौं — नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पक्षधर समूहले यही पुस २७ र २८ गते केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पाखरेलले पार्टी विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण सहभागिताका लागि आह्वान गर्नुभयो। साथै, पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

पाखरेलका अनुसार वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसलाई एकतावद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ। महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिसकिएको उहाँले जानकारी दिनुभयो।

गठन गरिएका समितिहरूमा पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रिय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद र पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालन, यातायात, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन तथा जिल्ला–क्षेत्र फोकल पर्सन समन्वय समिति रहेका छन्।

उहाँले पार्टी विधानको धारा १५ अनुसार केन्द्रिय महाधिवेशन नै पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय भएको उल्लेख गर्दै, यसबाट लिइने निर्णय स्वतः वैध हुने दाबी गर्नुभयो।

पार्टीभित्र विवाद र नेतृत्व तहमा असन्तुष्टि बढिरहेको सन्दर्भमा विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेका हुन्। यसअघि पार्टी कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको ठहर गर्दै आगामी जेठ मसान्तसम्म केन्द्रिय कार्यसमितिको कार्यावधि थप गर्ने निर्णय गरिसकेको छ।