नेपाली लोक–रक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइसकेको चर्चित ब्याण्ड नेपथ्य को लाइभ कन्सर्ट आगामी मे १० तारिखका दिन न्युजिल्यान्डको अकल्यान्डस्थित Due Drop Event Centre Auckland मा आयोजना हुने भएको छ। कार्यक्रम आयोजक संस्था लाखे इभेन्ट्स ले विशेष जानकारी कार्यक्रम आयोजना गरी कन्सर्टको मिति र स्थानबारे औपचारिक रूपमा जानकारी दिएको हो। उक्त कार्यक्रममा पत्रकारहरूका साथै विभिन्न स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सार्वजनिक समारोहमा न्युजिल्यान्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत दिनेश खड्का, एनआरएनए न्युजिल्यान्डका अध्यक्ष अच्युत अर्याल, तथा न्युजिल्यान्ड नेपाल सोसाइटीका अध्यक्ष रोशन खड्का लगायतले कार्यक्रमको महत्व र नेपथ्यले नेपाली संगीतमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो। उहाँहरूले नेपथ्यको प्रस्तुतीले न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच सांस्कृतिक एकता, आपसी सद्भाव र नेपाली पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
नेपाली लोक–रक संगीतलाई विश्वमाझ स्थापित गरिसकेको नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न न्युजिल्यान्डवासी नेपाली समुदाय लामो समयदेखि उत्साहित र प्रतीक्षारत रहेका छन्। मौलिक संगीत, सामाजिक सन्देश र सशक्त प्रस्तुतीका कारण नेपथ्यका कन्सर्टहरू सधैं दर्शकबीच उच्च आकर्षणको केन्द्र बन्ने गरेका छन्।
यसपटक नेपथ्यको प्रस्तुति अकल्यान्डमा मात्र आयोजना हुने भएकाले कार्यक्रमप्रति दर्शकको चासो र रुचि झनै बढेको आयोजकको भनाइ छ। लाखे इभेन्ट्सका प्रतिनिधि प्रेमेश देवकोटा ले जानकारी दिँदै भन्नुभयो, “नेपथ्य नेपाली समुदायका लागि केवल एउटा ब्याण्ड मात्र होइन, यो भावना र पहिचान हो। अकल्यान्डमा आयोजना हुन लागेको यो साँझलाई स्मरणीय बनाउन हामीले सबै तयारी तीव्र बनाएका छौँ। कार्यक्रमको मिति, टिकट, समय तालिका तथा अन्य व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक भइसकेको छ।”
यस कार्यक्रमले न्युजिल्यान्डमा रहेका नेपालीहरूलाई एकै स्थानमा भेला गराउँदै आपसी सद्भाव, सांस्कृतिक एकता र नेपाली पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
