वेलिङ्टन । न्युजिल्यान्डकी नेसनल पार्टीकी वरिष्ठ सांसद तथा शिक्षा र आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्डले पार्टी नेतृत्वका लागि आफूले कुनै दाबी नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री क्रिस्टोफर लक्सनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन्।
पार्टी नेतृत्वमा गत साता देखिएको अस्थिरतापछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै स्ट्यानफोर्डले आफूले लक्सनविरुद्ध नेतृत्वको प्रयास नगरेको र भविष्यमा पनि त्यस्तो कुनै योजना नरहेको बताइन्।
नेसनल पार्टीका नेता तथा प्रधानमन्त्री लक्सनले यसै साता पार्टीको ककसमा भएको विश्वासको मतदानमा आफ्नो नेतृत्व कायम राखेका थिए। पछिल्लो चार महिनामा उनको नेतृत्वमाथि भएको यो दोस्रो विश्वासको मतदान थियो।
आइतबार वेलिङ्टन विमानस्थलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै स्ट्यानफोर्डले गत साता आफूले सञ्चारकर्मीका प्रश्नको तत्काल जवाफ नदिएको विषयलाई लिएर विभिन्न अड्कलबाजी भएकोप्रति असन्तुष्टि जनाइन्।
गत साता अकल्यान्ड र वेलिङ्टन विमानस्थलमा सञ्चारकर्मीहरूले लक्सनप्रति आफूलाई विश्वास छ कि छैन भनेर प्रश्न गर्दा उनले तत्काल स्पष्ट जवाफ दिएकी थिइनन्। त्यसपछि भने उनले विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई आफ्नो पूर्ण समर्थन रहेको र पार्टीको ककस लक्सनको नेतृत्वमा एकताबद्ध रहेको बताएकी थिइन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले लक्सनविरुद्ध आफूले कुनै योजना नबनाएको र उनलाई ‘उत्कृष्ट नेता’का रूपमा हेर्ने बताइन्। “मैले तपाईंहरूलाई लाखौँ पटक भनिसकेकी छु, म उहाँलाई पूर्ण रूपमा समर्थन गर्छु,” स्ट्यानफोर्डले भनिन्।
विमानस्थलमा पत्रकारका प्रश्न छल्दै हिँडेको विषयमा पनि उनले आफूले रोकिएर जवाफ दिनुपर्ने हुनसक्ने स्वीकार गरिन्। तर, त्यसको कारण प्रधानमन्त्रीलाई समर्थन नगर्नु नभएको उनको स्पष्टोक्ति थियो।
“सायद विमानस्थलबाट हिँड्दा म रोकिएर तपाईंहरूका प्रश्नको जवाफ दिनुपर्थ्यो। तर त्यतिबेला मसँग त्यही भयो। प्रधानमन्त्रीलाई समर्थन नगरेको कारणले होइन, मैले तपाईंहरूका प्रश्नको जवाफ दिन छोडेकी मात्र हुँ, किनकि मैले त्यही विषयमा पूरै हप्ता पटक–पटक जवाफ दिइरहेकी थिएँ र तपाईंहरूले त्यसको ठीक उल्टो कुरा प्रकाशित गरिरहनुभएको थियो,” उनले भनिन्।
लक्सनको नेतृत्वमाथि भएको विश्वासको मतदानपछि पार्टी नेतृत्वमा आफ्नो सम्भावित भूमिकाबारे पनि स्ट्यानफोर्डले स्पष्ट धारणा राखिन्। आगामी निर्वाचनमा नेसनल पार्टी पराजित भए आफू पार्टी नेतृत्वका लागि अगाडि आउने हो कि भन्ने प्रश्नमा उनले आफूले त्यस सम्भावनालाई यसअघि नै अस्वीकार गरिसकेको बताइन्।
“म आगामी नौ वर्ष शिक्षा र आप्रवासन मन्त्री, विशेषगरी शिक्षा मन्त्री, बन्न चाहन्छु। मलाई आफ्नो काम निकै मन पर्छ र मैले अझै धेरै काम गर्न बाँकी छ,” उनले भनिन्।

