विशेष प्रतिनिधि सभा निर्वाचन, होली पर्व तथा लगातार सार्वजनिक बिदाको अवसर पारेर सहर र सदरमुकाममा बसोबास गर्दै आएका आम नेपाली आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्वाचनलाई लक्षित गर्दै करिब सात लाख ५० हजार नागरिक उपत्यकाबाट बाहिरिएका छन्। मङ्गलबार मात्र झण्डै एक लाख यात्रु बाहिरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ। अहिले सहरभन्दा गाउँ–घरमा मानिसको चहलपहल बढी देखिन थालेको छ भने सहर र कतिपय सदरमुकाम सुनसानजस्तै देखिन थालेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।
आमनिर्वाचन, होली पर्व र एक साताको सरकारी बिदा एकैसाथ परेकाले उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक भएको ट्राफिक प्रहरीले जनाएको छ। लामो दूरीका सवारीसाधनमा यात्रुको अत्यधिक भीड देखिएको छ भने नियमित रुटमा थप सवारी सञ्चालन गरिएको छ। धेरै यात्रुले बस रिजर्भ गरेर गाउँ गएका छन् भने केही यात्रु सवारीसाधन अभावका कारण घर फर्कन बाध्य भएका घटनासमेत देखिएका छन्।
मङ्गलबार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायतका मुख्य चोकमा यात्रुको लामो लाइन देखिएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दूरीका रात्रि बस सञ्चालन नहुने भएकाले मङ्गलबार यात्रुको चाप बढेको हो।
निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ। सोही निर्णयअनुसार रात्रि बस सञ्चालन नगरिने महासङ्घले जनाएको छ। फागुन २० गते दिउँसो मात्र यातायात सञ्चालन हुने र सो दिन राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बस सञ्चालन गरिने जनाइएको छ।
सरकारले निर्वाचनका अवसरमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको छ। त्यसपछि २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले फागुन १८ देखि २४ गतेसम्म लगातार सार्वजनिक बिदा परेको छ। लगातारको बिदा र निर्वाचनका कारण देशभर आन्तरिक आवतजावतमा उल्लेख्य वृद्धि भएको देखिएको छ।
