काठमाडौं । नेपालमा आम निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आगामी बिहीबार हुँदैछ । राजनीतिक दलका नेताहरूले चुनावी प्रचार–प्रसार स्थगित गर्दै आन्तरिक संवादमा जुटेका छन् भने मतदाताहरू आफ्नो घरदैलोमा आएका उम्मेदवारबारे आपसी छलफलमा व्यस्त देखिएका छन् ।
विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनपछि आउने नेतृत्वले वास्तविक रूपमा नयाँ नेपाल निर्माण गर्ने अपेक्षा गरिएको छ । देशले सक्षम र इमानदार नेतृत्व पाउने आशा आम नागरिकमा देखिन्छ । देशभित्र रहेका नेपाली मात्र होइन, विदेशमा बसोबास गरिरहेका लाखौं नेपालीले पनि यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिरहेका छन् ।
उनीहरूले विगतका निर्वाचनझैं नारामै सीमित विकास नभई व्यवहारमै परिवर्तन देख्न पाइने अपेक्षा गरेका छन् । आर्थिक मन्दी, बेरोजगारी, भ्रष्टाचार, महँगी र अवसरको अभावले निराश बनेका नागरिकहरू अब स्थायित्व, सुशासन र परिणाममुखी नेतृत्वको खोजीमा छन् ।
यसै सन्दर्भमा हिमालपारी मिडियाले न्युजिल्याण्डमा रहेका दर्जनभन्दा बढी नेपाली समाजका प्रतिनिधिहरूसँग नेपालको निर्वाचनबारे प्रतिक्रिया संकलन गरेको थियो । सहभागी सबैको साझा धारणा थियो—अब हुने निर्वाचनले देशको वास्तविक परिवर्तनको ढोका खोल्नुपर्छ । नयाँ नेतृत्वले विकास दिन नसके नेपालमा परिवर्तनको गति सुस्त रहने र विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने वातावरण बन्न कठिन हुने उनीहरूको ठम्याइ थियो ।
हिमालपारी मिडियाले गैरआवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष अच्युत अर्याल, न्युजिल्याण्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जन, न्युजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष रोशन खड्का, युवामाझ लोकप्रिय संस्था हाम्रो एकताका अध्यक्ष सौरभ बस्नेत तथा सामाजिक अगुवाहरू श्रीधर बस्नेत, राजु ढकाल, दीपक पाण्डे, दीपेन्द्र महर्जनलगायतसँग प्रतिक्रिया लिएको थियो ।
उहाँहरूले दिएको प्रतिक्रियाको सार के थियो भने निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिले देशको ‘काँचुली फेर्ने’ नेतृत्व दिन सक्नुपर्छ । आधारभूत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणजस्ता विषयमा ठोस नीतिगत निर्णय र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा उनीहरूको जोड थियो ।
विशेषगरी युवापुस्ताले स्वदेशमै केही गर्ने वातावरण बन्नुपर्ने माग अघि सारेका छन् । रोजगारीको खोजीमा वर्षेनी हजारौं युवाहरू विदेशिन बाध्य हुने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ । विदेशमा रहेका नेपालीसमेत स्वदेश फर्केर सीप र पूँजी लगानी गर्ने वातावरण बन्ने आशा यसपटकको निर्वाचनसँग जोडिएको छ ।
नेपालमा व्याप्त भ्रष्टाचारप्रति नागरिक आक्रोशित छन् । ठूला घोटालादेखि सामान्य प्रशासनिक कामकाजसम्म देखिएको अनियमितता र ढिलासुस्तीले जनविश्वास कमजोर बनेको छ । यसपटकको निर्वाचनले भ्रष्टाचार अन्त्यतर्फ ठोस कदम चाल्ने नेतृत्व चयन गर्नुपर्नेमा सहभागीहरूको एकमत देखिएको थियो ।
साथै, कर्मचारी तन्त्रमा रहेको राजनीतिक हस्तक्षेप अन्त्य गरी दक्ष, पारदर्शी र जवाफदेही प्रशासनिक संयन्त्र निर्माण गर्नुपर्ने, धनी र गरिबबीच बढ्दो असमानता घटाउनुपर्ने तथा समावेशी विकास सुनिश्चित गर्नुपर्नेमा उनीहरूको जोड थियो । विगतमा ‘समृद्ध नेपाल’ र ‘नयाँ नेपाल’ जस्ता नाराहरू उठे पनि अपेक्षाअनुसार परिणाम नआएको भन्दै अब नाराभन्दा व्यवहारमा देखिने विकास आवश्यक रहेको धारणा व्यक्त गरिएको छ ।
निर्वाचनको मौन अवधिमा प्रवेशसँगै अब निर्णय गर्ने जिम्मेवारी मतदाताको काँधमा आएको छ । यसपटकको मतदानले केवल प्रतिनिधि चयन मात्र होइन, देशको आगामी दिशा निर्धारण गर्ने विश्वास गरिएको छ ।
देश–विदेशका नेपालीको एउटै अपेक्षा छ—भ्रष्टाचारमुक्त, समावेशी र समृद्ध नेपाल निर्माण होस्, जहाँ विकास नारामै सीमित नभई व्यवहारमै अनुभूत होस् ।
