काठमाडौं । आज १५ असार। नेपालभर धान रोपाइँको चटारो छ। कतै असारे झरीले खेतहरू भरिएका छन्, कतै किसान आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन्। गाउँघरमा असारे गीत गुञ्जिरहेका छन्,खेतका गरामा किसानहरू हिलोसँग रमाइरहेका छन् । धान दिवसका अवसरमा सरकारले पनि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ। सामाजिक सञ्जालदेखि सरकारी कार्यालयसम्म धान रोपाइँका तस्वीरहरू सार्वजनिक भइरहेका छन्। तर यही उत्सवका बीच नेपालको कृषि क्षेत्रले वर्षौंदेखि सामना गरिरहेको एउटा गम्भीर यथार्थ भने फेरि एकपटक सतहमा आएको छ—धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य दोहोर्याइरहँदा धानको बिउका लागि नेपाल अझै विदेशी बजारमै निर्भर छ।

हरेक वर्ष धान दिवसमा आत्मनिर्भर कृषिको प्रतिबद्धता दोहोरिन्छ। मन्त्रीदेखि कर्मचारीसम्म खेतमा पुगेर रोपाइँ गर्छन्। तर किसानले खेतमा छर्ने बिउ भने ठूलो मात्रामा भारत र चीनबाट आयात गरिएको हुन्छ। भन्सार विभागको तथ्यांकले पनि यही वास्तविकता देखाउँछ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै नेपालले १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको करिब २ हजार ९९३ टन धानको बिउ आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले बढी हो। मूल्यका हिसाबले मात्र होइन, परिमाणका आधारमा पनि आयात निरन्तर बढिरहेको छ।

आयात हुने बिउमध्ये झण्डै सम्पूर्ण हिस्सा भारत र चीनको छ। भारतबाट मात्रै एक अर्ब १४ करोड रुपैयाँभन्दा बढीको बिउ नेपाल भित्रिएको छ भने चीनबाट पनि १५ करोड रुपैयाँभन्दा बढीको बिउ आयात भएको छ। परीक्षण तथा अनुसन्धानका लागि केही किलो बिउ अन्य मुलुकबाट आए पनि नेपालको धान खेतीको आधार अझै छिमेकी मुलुकमै टिकेको देखिन्छ।

रोचक पक्ष के छ भने सरकारले भने नेपालमा धानको बिउ पर्याप्त उत्पादन हुने दाबी गर्दै आएको छ। कृषि तथा वन मन्त्रालयका अनुसार देशलाई वार्षिक करिब ७१ हजार टन धानको बिउ आवश्यक पर्छ, जबकि आन्तरिक उत्पादन ७० देखि ७८ हजार टनसम्म पुग्ने गरेको छ। तथ्यांक हेर्दा नेपाल बिउमा आत्मनिर्भर देखिन्छ। तर खेतमा पुग्दा चित्र फरक देखिन्छ। किसानले स्वदेशीभन्दा विदेशी हाइब्रिड बिउ रोजिरहेका छन्।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. माथुर यादव का अनुसार समस्या बिउको अभाव होइन, किसानको रोजाइ र बिउ प्रणालीको संरचनामा छ। उनका अनुसार नेपालमा आयात हुने धानको बिउमध्ये करिब ९० प्रतिशत हाइब्रिड जातका हुन्। स्वदेशी हाइब्रिड बिउको विकल्प सीमित भएकाले किसान विदेशी बिउ प्रयोग गर्न बाध्य भएका छन्। अहिले पनि देशको करिब ७७ प्रतिशत बिउ प्रणाली अनौपचारिक छ। अधिकांश किसानले आफ्नै पुरानो बिउ राख्ने, छिमेकीसँग साटासाट गर्ने वा स्थानीय बजारबाट किन्ने गर्छन्। प्रमाणित बिउ प्रयोग गर्ने किसानको संख्या अझै न्यून छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म १५० भन्दा बढी उन्नत धानका जात विकास गरिसकेको छ। तर किसानको रोजाइमा पर्ने हाइब्रिड धान भने स्वदेशमै जम्मा दुईवटा मात्रै विकास भएका छन्। यही कारण विदेशी कम्पनीका हाइब्रिड बिउले नेपाली बजारमा प्रभुत्व कायम राखेका छन्।

बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्य भन्छन्, “किसानको माग हाइब्रिड बिउमा छ। तर स्वदेशी उत्पादन पर्याप्त छैन। अनुसन्धान र उत्पादनमा पर्याप्त लगानी नगरेसम्म विदेशी बिउमाथिको निर्भरता हटाउन सकिँदैन।”

धानको मूल बिउ उत्पादन गर्ने जिम्मेवारी बोकेको नेपाल कृषि अनुसन्धान परिषद् ले पनि आफ्नो उत्पादन क्षमता सीमित रहेको स्वीकार गरेको छ। परिषद्का प्रवक्ता डा. भानुभक्त पोखरेल का अनुसार सरकारी फार्महरूबाट वार्षिक करिब २०० टन मात्रै स्रोत बिउ उत्पादन हुन्छ। त्यसलाई किसान समूह र निजी कम्पनीमार्फत वृद्धि गरिए पनि देशभरको माग पूरा गर्न पर्याप्त हुँदैन। खुला सीमाका कारण किसानले भारतबाट आफैं बोकेर ल्याउने बिउको कुनै आधिकारिक अभिलेखसमेत नरहेको उनको भनाइ छ।

यद्यपि, पछिल्ला वर्षहरूमा निजी क्षेत्रको सहभागिता भने बढ्दै गएको छ। लुम्बिनी, मधेश, कोशी र सुदूरपश्चिम प्रदेशमा निजी कम्पनीहरूले उन्नत धानको बिउ उत्पादनमा लगानी बढाएका छन्। कृषि विज्ञहरूका अनुसार राज्य, अनुसन्धान संस्था र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुन सके केही वर्षमै विदेशी बिउमाथिको निर्भरता उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

धान केवल एउटा बाली होइन, नेपालको खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र लाखौँ किसानको जीवनसँग जोडिएको आधार हो। त्यसैले आत्मनिर्भरताको अर्थ केवल धान उत्पादन बढाउनु मात्र होइन, किसानले प्रयोग गर्ने बिउ पनि आफ्नै देशमा विकास र उत्पादन गर्न सक्नु हो। अनुसन्धानमा पर्याप्त लगानी, गुणस्तरीय हाइब्रिड बिउको विकास, प्रभावकारी वितरण प्रणाली र किसानको विश्वास जित्न सकिए मात्रै आत्मनिर्भरताको लक्ष्य व्यवहारमा उतार्न सकिन्छ।

आज खेतमा रोपाइँ गर्दै गरेका किसानका अनुहारमा उत्साह छ। असारे गीतले गाउँ गुञ्जिएको छ। तर उनीहरूले हातमा समातेको बिउले भने नेपालको कृषि क्षेत्रको अर्को कथा सुनाइरहेको छ। जबसम्म नेपाली किसानले आफ्नै देशमा उत्पादन भएको गुणस्तरीय बिउमा विश्वास गर्न सक्दैनन्, तबसम्म धानमा आत्मनिर्भरताको नारा प्रत्येक १५ असारमा दोहोरिए पनि त्यसको वास्तविक अर्थ भने अधुरै रहनेछ।