धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले बेथिति अन्त्य गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताएका छन्। सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विद्यमान अव्यवस्था र बेरोजगारीको अन्त्य गर्ने प्रतिबद्धता जनाए।
“मतपत्रमा छाप लगाउने दिन फागुन २१ हो, तर अहिले मनपत्रमा छाप लगाउने समय हो,” उनले भने, “सुदूरपश्चिमको अधिकारलाई मागका रूपमा अल्झाएर राख्ने काम बन्द हुनुपर्छ। अब बेथिति र बेरोजगारीको सटर एकैपटक बन्द गर्ने हो—सबै सटर बन्द गर्ने हो।”
लामिछानेले रास्वपा पाँच वर्षे स्थायी सरकारको एजेन्डासहित जनतामाझ गएको उल्लेख गर्दै आफ्ना उम्मेदवारलाई समर्थन गर्न आह्वान गरे। राजनीतिक दलहरूले चुनावमा गरेका बाचा पूरा नगर्दा दुःख जनताले भोग्नुपरेको अवस्था अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“बाचा जसले गरेको हो, सजाय उसैले पाउनुपर्छ—जनताले होइन,” उनले भने। भारतलगायत विदेशमा श्रम गरिरहेका सुदूरपश्चिमका नागरिकलाई लक्षित गर्दै उनले सम्भव भए छुट्टी मिलाएर मतदानमा सहभागी हुन आग्रह गरे। “परदेश सजिलो छैन भन्ने मलाई थाहा छ, तर यसपटक देश बदल्न आउनुहोस्। सधैं नेतामात्रै जितिरहेका छन्, अब जनताले जित्नुपर्छ,” उनले भने।
देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर रास्वपा अघि बढेको पनि उनले स्पष्ट पारे।
