धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले बुधबार धनगढीमा आयोजित सभाबाट आफ्नो पहिलो चुनावी भाषण दिएका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले संक्षिप्त तर सन्देशमूलक सम्बोधन गरेका हुन्।

सभालाई सम्बोधन गर्दै शाहले रास्वपा भोट माग्न नभई काम गर्न आएको दाबी गरे। “राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट नदिए पनि हामी काम गर्छौं। सुदूरपश्चिममा काम रोकिँदैन। तपाईंहरूले हामीलाई काम दिनुहोस्,” उनले भने।

नेपाल प्राकृतिक रूपमा नै सुन्दर र सम्भावनायुक्त देश भएको उल्लेख गर्दै उनले बाहिरी मुलुकको नक्कल गर्नुभन्दा आफ्नै स्रोत–साधन र पहिचानको सदुपयोग गर्नुपर्ने धारणा राखे। “नेपाल आफैं सुन्दर छ। हामीसँग माल छ, तर चाल पाएका छैनौं। स्विजरल्यान्ड किन बनाउनुपर्‍यो?” उनले प्रश्न गरे। रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका शाहले धेरै नबोल्ने भन्दै आफ्नो मन्तव्य टुंग्याएका थिए।