भोली विहीबार अर्थात फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर सुरक्षा तथा प्रशासनिक तयारी पूरा भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भइसकेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतसहितका कर्मचारी तोकिएका मतदान केन्द्रमा पुगेर आवश्यक पूर्वतयारी सुरु गरिसकेका छन्। हिमाली जिल्लादेखि तराईसम्मका सबै मतदान केन्द्रमा सुरक्षा संयन्त्रले जिम्मेवारी सम्हालिसकेको र मतपत्र तथा निर्वाचन सामग्री सुरक्षित रूपमा ढुवानी गरिसकिएको उहाँले जानकारी दिनुभयो।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन सर्वदलीय बैठकसमेत सम्पन्न भएको छ। सुरक्षा संयन्त्रले रणनीतिक स्थानमा अस्थायी पोस्ट स्थापना गरी गस्ती, चेकजाँच तथा निगरानी तीव्र बनाएको छ। मतदान केन्द्रमा तारबार, सूचना पाटी र अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले भौगोलिक अवस्था, सम्भावित जोखिम र सुरक्षा चुनौतीका आधारमा मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै थप सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। निर्वाचनविरोधी गतिविधिमा संलग्न हुन खोज्नेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यसैबीच मन्त्रालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कडा कारबाही हुने स्पष्ट पारेको छ। मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीमा हस्तक्षेप गरे एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान उल्लेख गरिएको छ। मतदाता परिचयपत्र कब्जा गर्ने वा दुरुपयोग गर्ने कार्यमा संलग्नलाई समेत कानुनी कारबाही गरिने जनाइएको छ।

चितवनसहित विभिन्न जिल्लामा मतदान सामग्री र कर्मचारी मतदानस्थलमा पुगिसकेका छन्। चितवनमा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल तोकिएका छन् भने करिब तीन हजार कर्मचारी परिचालन गरिएको छ। तीनवटै निर्वाचन क्षेत्रमा मतगणनास्थल तय गरी सिसी क्यामेरा र सुरक्षा घेरा व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।

सरकारले निर्वाचन अवधिभर मौसम अनुकूल रहने पूर्वानुमानका आधारमा सम्पूर्ण तयारी पूरा भएको दाबी गर्दै आम मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।