नेपालमा आज प्रतिनिधिसभा निर्वाचन देशभर एकै चरणमा हुँदैछ। संघीय संसदअन्तर्गतको २७५ सदस्यीय प्रतिनिधिसभा गठनका लागि आम मतदाताले आफ्ना प्रतिनिधि छान्न मतदान गर्न लागेका हुन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन देशभर व्यापक तयारी पूरा गरिएको छ।

निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्र रहेका छन्। यसका अतिरिक्त १४३ अस्थायी मतदान स्थलसमेत तोकिएका छन्, जहाँ विशेष परिस्थितिका मतदाताले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

तीन घेराको सुरक्षा व्यवस्था

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। साथै करिब २ लाख १५ हजार सरकारी कर्मचारी निर्वाचन कार्यमा परिचालित भएका छन्।

आयोगका अनुसार विगतका निर्वाचनझैं यसपटक पनि तीन घेराको सुरक्षा व्यवस्था लागू गरिएको छ। बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयसँगको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जानकारी दिएका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार हालसम्म निर्वाचन बिथोल्ने कुनै भूमिगत समूह वा तत्व पहिचान भएको छैन।

उच्च मतदाता सहभागिताको अपेक्षा

यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुँदैछन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। पछिल्लो समय देखिएको युवा सचेतना र नागरिक सक्रियताका कारण करिब १० लाख नयाँ मतदाता नामावलीमा थपिएका छन्।

निर्वाचनअगाडि पछिल्लो एक सातामा करिब आठ लाख व्यक्तिले काठमाडौं उपत्यका छाडेको तथ्यले पनि आ–आफ्नो स्थायी ठेगानामा पुगेर मतदान गर्ने उत्साह देखिएको अनुमान गरिएको छ। नयाँ तथा युवा मतदाताको सक्रिय सहभागिताले मतदान प्रतिशत वृद्धि हुनुका साथै बदर मत घट्ने अपेक्षा गरिएको छ।

२७५ सिटका लागि ६ हजारभन्दा बढी उम्मेदवार

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। दुवैतर्फ गरी ६ हजार ५४१ उम्मेदवार २७५ सिटका लागि चुनावी मैदानमा उत्रिएका छन्।

यस निर्वाचनमा युवा उम्मेदवारको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। ४० वर्ष वा सोभन्दा कम उमेरका उम्मेदवारको संख्या १ हजार ८२ रहेको छ, जसमा ५७१ स्वतन्त्र उम्मेदवार छन्। प्रमुख राजनीतिक दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै युवा उम्मेदवार अघि सारेको छ। साथै श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि उल्लेख्य संख्यामा युवा उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

ऐतिहासिक र निर्णायक अभ्यास

कडा सुरक्षा व्यवस्था, व्यापक प्रशासनिक तयारी, उच्च मतदाता सहभागिताको अपेक्षा तथा युवा पुस्ताको सक्रिय उपस्थितिका कारण यसपटकको निर्वाचनलाई ऐतिहासिक र निर्णायक अभ्यासका रूपमा हेरिएको छ। लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने अवसरका रूपमा यस निर्वाचनलाई महत्व दिइएको छ।

निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न अपिल गरेको छ। आयोगले शान्तिपूर्ण वातावरणमा निर्धक्क भएर मतदान गर्न र कुनै प्रकारको अफवाहमा नपर्न पनि आग्रह गरेको छ।