दमक नगरपालिका–८ स्थित तरकारी मन्डीको खुला परिसर मंगलबार केवल झापा–५ को निर्वाचन कार्यालय मात्र थिएन। त्यो स्थान एकै दिन, एकै प्रक्रियामा दुई फरक राजनीतिक समय, दुई विपरीत ऊर्जा र दुई अलग–अलग यात्राको प्रतीकात्मक संगमस्थल बन्यो।
एउटै ठाउँ, एउटै मनोनयन प्रक्रिया—तर पात्र यति भिन्न कि एउटै फ्रेममा देखिँदा पनि उनीहरूको आभा एक–अर्कामा मिसिन सकेन। एकातिर, चार दशकभन्दा लामो राजनीतिक यात्राको भारी बोकेर अघि बढिरहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली। अर्कातिर, नयाँ पुस्ताको असन्तुष्टि, आकांक्षा र ऊर्जाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र साह।
सार्वजनिक भिडियो फुटेज अनुसार ओली थाकेका यात्रुजस्ता देखिन्थे—अनुहारमा समयको चाप, चालमा थकान। बालेन्द्र भने चम्किला र उत्साहित देखिन्थ्येँ । उनी नयाँ पहाड चढ्न तयार, भीडको ऊर्जा पिएर अघि बढिरहेका। प्रतिस्पर्धा त थियो नै, तर त्यो उम्मेदवारबीचको मात्र होइनस त्यो समय, शैली र जनमनको प्रतिस्पर्धा थियो।
बालेन्द्रको मनोनयन समय बिहान ११ बजे तय थियो। ओलीको दिउँसो १ बजे। तर वास्तविकताले तालिका उल्ट्याइदियो। बालेन्द्रको उपस्थितिले दमक बजार बिहानैदेखि उत्सवमय बन्यो—गीत, झन्डा, नाराले भरिएको वातावरण। उनलाई देख्न, सुन्न, तस्बिर खिच्न वा भीडको हिस्सा बन्न टाढा–टाढाबाट मानिसहरू ओइरिए।
यही भीड, यही चहलपहलले ओलीको आगमन ढिला गरायो। सुरक्षा व्यवस्थापन र भीड नियन्त्रणका कारण उनी करिब २ बजे मात्रै निर्वाचन कार्यालय पुगे।
बालेन्द्र भने तामझामसहित पुगे पनि कागजात अपूर्ण हुँदा मनोनयन झन्डै एक घण्टा ढिलो भयो। पौने १ बजे प्रमाणपत्र बुझाएपछि बाहिर निस्कँदा समर्थकको वाक्लो भीड र भित्र सञ्चारकर्मीको घेरा थियो। तर उनले प्रश्नहरू अस्वीकार गरे—एकपटक त पत्रकारलाई ‘बाहिर जानोस्’ भन्दै निर्देशन नै दिए। अन्ततः उनी आफैं स्टेयरिङ समातेर समर्थकमाझ निस्किए, भीड पनि उनीसँगै बग्यो।
बालेन्द्रपछि नेकपाका युवा उम्मेदवार रन्जित तामाङको प्रक्रिया सकिएपछि मात्रै ओली परिसरमा प्रवेश गरे। तर त्यो प्रवेश बालेन्द्रले छाडेर गएको उत्सवको छायाँमा फिक्का देखिन्थ्यो।
न धेरै समर्थक, न बाक्लो सुरक्षा घेरा। ओलीको हाउभाउ पहिलाजस्तो आदेशात्मक थिएन। स्वर मसिनो, चाल ढिलो, अनुहारमा आत्मविश्वासको चमक कम। मानौं राजनीति नामक लामो यात्राले उनी थाकेका छन्।
२०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका ओलीको यो आठौँ चुनावी यात्रा हो। जित–हार, सत्ता–विपक्ष सबै भोगिसकेका उनी यसपटक कागजात र तालिकासँग मात्र होइन, समय र शैलीसँग प्रतिस्पर्धा गरिरहेका देखिन्थे—एक यस्तो लोकप्रिय पात्रसँग, जसले परम्परागत राजनीतिक धागाहरू च्यातिदिएको छ।
दुई संवाद, दुई मनोदशा
बालेन्द्रले पत्रकारको प्रश्न अस्वीकार गरे। ओली भने पत्रकारतर्फ फर्किए। तर गाइँगुइ हल्लाबीच उनका शब्दहरू प्रस्ट सुनिएनन्। ‘के–के सोध्नुहुन्छ, सोध्नूस्,’ उनले भने—तर त्यो आवाजमा पुरानै तेज थिएन।
जब पत्रकारले सोधे, ‘भर्खरै बालेनको तामझाम देख्नुभयो होला, कस्तो लाग्योर ?’
ओलीको छोटो उत्तर आयो, ‘मैले देखिनँ।’ यो ‘मैले देखिनँ’ भित्र धेरै अर्थ लुकेका थिए—इन्कार, उपेक्षा, बचाउ, वा स्वीकार्न नसकिएको नयाँ चुनौती।
एउटै फ्रेम, दुई युग
तरकारी मन्डीको यही परिसरमा देखिएका ओली र बालेन्द्रले एउटा साझा सन्देश छोडे—यो चुनाव उम्मेदवारबीचको मात्र प्रतिस्पर्धा होइन। यो त समयको, शैलीको र जनअपेक्षाको प्रतिस्पर्धा हो।
ओली प्रतिनिधित्व गर्छन् पुरानो राजनीतिक संरचनाको शक्ति—अनुभव, पार्टी मेसिनरी र राज्यसँगको गहिरो सम्बन्ध। बालेन्द्र प्रतिनिधित्व गर्छन् निराशाबीच जन्मिएको नयाँ खोज—आक्रोश, परिवर्तनको आकांक्षा र ‘फ्यान कल्चर’ समेतको।
