पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार मृतकमध्ये तीन जना विदेशी नागरिक रहेका छन्। उनीहरू कुन देशका हुन् भन्ने विवरण खुल्न बाँकी भए पनि एक जना न्यूजील्याण्डका नागरिक रहेको जनाइएको छ।

प्रहरीका अनुसार गएराति करिब १:३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा स्थित पृथ्वी राजमार्ग खण्डमा ग १ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेर पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। बसमा ४६ जना यात्रु सवार रहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका थिए। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन आधार केन्द्र आदमघाटबाट प्रहरी उपरीक्षक सुनिल गिरीको नेतृत्वमा टोली परिचालन गरिएको थियो भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि घटनास्थल पुगेको थियो।

उद्धारका क्रममा यात्रुहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म पुर्‍याई त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार रातिको समय, अप्ठेरो भूगोल र पर्याप्त उद्धार सामग्रीको अभावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। उनले टर्चको सहायताले घाइतेहरूको उद्धार गर्नुपरेको र सामग्रीको अभाव महसुस भएको बताएका छन्।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।