अकल्यान्ड । वैटाङ्गी सप्ताहन्तको अवसरमा सुरु भएको टेन्जिङ–हिलारी कप २०२६ को पहिलो दिन अकल्यान्डको टे आटाटु साउथस्थित म्याक्लियोड पार्कमा उल्लासमय वातावरणबीच सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको ११औँ संस्करणअन्तर्गत पहिलो दिन सहभागी सबै टिमहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका छन्। किड्स टिमबाहेकका सबै टिमले पहिलो दिनमै आफ्ना समूह चरणका खेल खेलेका थिए।

पहिलो चरणको खेलपछि समूह चरण पूरा भएसँगै ८ टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट उत्कृष्ट चार अंक जोड्दै नेपाल युनाइटेड र नेपालीज वारियर्स क्वार्टरफाइनलमा पुगेका छन्। यस समूहमा नेपाल युनाइटेड, सिम्रिक एफसी र नेपालीज वारियर्सको सहभागिता रहेको थियो।

समूहगत नतिजाअनुसार समूह ‘बी’ बाट लोथशाम्पा र खुकुरी ह्वाइट, समूह ‘सी’ बाट गुर्खा एफसी र खुकुरी रेड, तथा समूह ‘डी’ बाट गोर्खाली एफसी र एमटी ८८४८ ले अन्तिम आठको यात्रा तय गरेका छन्। समूह ‘बी’ मा लोथशाम्पाले दुवै खेल जित्दै ६ अंकसहित समूह विजेता बन्यो भने समूह ‘डी’ मा गोर्खाली एफसी र एमटी ८८४८ दुवैले समान ४–४ अंक जोड्दै क्वार्टरफाइनल प्रवेश गरे।

पहिलो दिनका खेल नतिजाअनुसार नेपाल युनाइटेडले सिम्रिक एफसीलाई २–० ले पराजित गर्‍यो। लोथशाम्पाले खुकुरी ह्वाइटमाथि २–१ को जित निकाल्दा गुर्खा एफसीले खुकुरी रेडलाई १–० ले हरायो। त्यस्तै गोर्खाली एफसीले हिमालयन एफसीलाई १–० ले पराजित गर्‍यो।

फेब्रुअरी ८ आइतबार क्वार्टरफाइनल तथा सेमिफाइनल खेलहरू आयोजना हुनेछन्। बिहान ९:०० बजे पिच–१ मा सिम्रिक एफसी र हिमालयन नोमाड्सबीच तथा पिच–२ मा साउदर्न ड्रागन्स र हिमालयन एफसीबीच क्वार्टरफाइनल खेल हुनेछ। बिहान १०:०० बजे पिच–१ मा खुकुरी ह्वाइट र एमटी ८८४८ तथा पिच–२ मा नेपालीज वारियर्स र गुर्खा एफसी आमनेसामने हुनेछन्। सेमिफाइनल खेलहरू बिहान ११:०० बजे आयोजना हुनेछन्, जसअन्तर्गत पिच–१ मा नेपाल युनाइटेड र खुकुरी रेड तथा पिच–२ मा लोथशाम्पा र गोर्खाली एफसीबीच प्रतिस्पर्धा हुनेछ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन शुक्रबार साँझ विशेष कार्यक्रमबीच गरिएको थियो। उद्घाटन समारोहमा न्युजिल्यान्ड संसदमा टे आटाटु क्षेत्रका सांसद फिल ट्वाइफोर्ड ले वैटाङ्गी डेको अवसरमा प्रतियोगिता आयोजना हुनु एकता र भाइचाराको सन्देश बोकेको उल्लेख गरे। उनले टेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीबीचको ऐतिहासिक मित्रताको चर्चा गर्दै नेपाल–न्युजिल्यान्ड सम्बन्ध पनि सोही भावनाले निर्देशित रहेको बताए।

न्युजिल्यान्डका लागि नेपालका अवैतनिक वाणिज्यदूत दिनेश खड्का ले टेन्जिङ–हिलारी कपलाई नेपाली समुदायको ‘आइकोनिक’ प्रतियोगिता भन्दै यसले खेलसँगै आपसी एकता र पहिचानलाई मजबुत बनाएको बताए। आयोजक समितिका संयोजक सुसान्त लामा ले प्रतियोगिता खेल मात्र नभई नेपाली समुदायलाई एकताबद्ध गर्ने साझा अभियान भएको उल्लेख गरे।

सन् २०१५ देखि सञ्चालन हुँदै आएको टेन्जिङ–हिलारी कप सर एडमण्ड हिलारी र टेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्दा देखाएको साहस र मित्रताको सम्मानस्वरूप स्थापना गरिएको हो। यस वर्षको प्रतियोगिता खुकुरी एफसीको २०औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ। खेलकुदसँगै ‘मिट एन्ड ग्रिट’, स्थानीय खानाका स्टल तथा विभिन्न व्यवसायिक स्टलहरूले प्रतियोगितालाई अझै उत्सवमय बनाएको छ।

आयोजकका अनुसार टेन्जिङ–हिलारी कप न्युजिल्यान्डमा रहेका नेपाली तथा नेपाली भाषी समुदायबीचको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ।