काठमाडौं — जेनजी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी अनुसन्धानका सिलसिलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा नियन्त्रणमा लिएको जनाएको छ। तीन दिनअघि सार्वजनिक भएको गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूको लापरबाहीका कारण ज्यान जाने घटना भएको ठहर गरेको थियो।

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतमाथि मुलुकी अपराध संहिताअन्तर्गत कारबाही सिफारिस गरिएको उल्लेख छ। सोही आधारमा प्रहरीले मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ उद्धृत गर्दै पक्राउ गरेको जनाएको छ।

यी दफाअनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ व्यवस्था रहेको छ। यस प्रकारको कसुरमा दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीबाहेकका व्यक्तिहरूको हकमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यस प्रकरणमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।