घरेलु मैदानमा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले जिम्बाब्वेलाई पराजित गर्दै सुपर सिक्समा पुग्ने सम्भावना जिवन्त राखेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाब्वेमाथि ६ विकेटको महत्वपूर्ण जित निकालेको हो।

यो जितसँगै समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कायम छ। छनोट प्रतियोगितामा दुई समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने प्रावधान रहेको छ। यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपालका लागि जिम्बाब्वेविरुद्धको खेल ‘गर या मर’को अवस्थामा थियो। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। यस समूहबाट नेदरल्यान्ड्सले भने सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा जनवरी २६ तारिख स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्समा पुग्न नेपालले उक्त खेल जित्नुका साथै अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्नेछ। विशेषगरी नेदरल्यान्ड्स र थाइल्यान्डबीचको अन्तिम समूह खेल नेपालको दृष्टिमा निकै महत्वपूर्ण हुनेछ।

शनिबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चौथो नम्बरमा ब्याटिङ गर्न आएकी केली एन्डलोभुले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेल्दै जिम्बाब्वेको स्कोर सम्हालिन्। ओपनर विलोभ्ड बिजाले ३४ रन बनाइन् भने मोडेस्टर मुपाचिक्वाले १४ रन जोडिन्। अन्य ब्याटर भने प्रभावशाली देखिन सकेनन्।

नेपालको बलिङतर्फ रिया शर्माले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिइन्। कविता कुँवर, उपकप्तान पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान एक–एक विकेट हात पारे। कविता कुँवरले पहिलो ओभरमै चिपो मुगेरलाई ८ रनमा बोल्ड गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएकी थिइन्।

जवाफमा १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उपकप्तान पूजा महतोको उत्कृष्ट अलराउन्ड प्रदर्शन नेपालको जितको आधार बन्यो। उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रन र बिन्दु रावलले १५ रनको योगदान दिइन्। सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट भइन्।

जिम्बाब्वेले दिएको अतिरिक्त २१ रनले पनि नेपाललाई लक्ष्य भेट्टाउन सहज बनाएको थियो। जिम्बाब्वेको बलिङमा जोसिफिन एनकोमोले दुई विकेट लिइन् भने नोमभोलो सिभान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक–एक विकेट लिए।

यस हारसँगै जिम्बाब्वे सुपर सिक्सको दौडबाट बाहिरिएको छ। पछिल्ला तीन खेलमा हार बेहोरेको जिम्बाब्वे अंकविहीन अवस्थामा छ। शनिबार नै भएको अर्को खेलमा स्कटल्यान्डले थाइल्यान्डलाई पाँच विकेटले हराएसँगै जिम्बाब्वेको दोस्रो चरण पुग्ने सम्भावना समाप्त भएको हो।