चिलीको दक्षिणी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। राष्ट्रपति गेब्रियल बोरिकले न्युव्ले (Nuble) र बायोबियो (Biobio) प्रदेशमा आपतकालीन अवस्था घोषणा गर्दै सबै स्रोत–साधन परिचालन गरिएको बताएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार डढेलोका कारण हालसम्म कम्तीमा २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १८ जनाको ज्यान गएको पुष्टि भएको छ। विपद् व्यवस्थापन निकाय सेनाप्रेडका अनुसार करिब २५० घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
चिलीको वन निकाय CONAF ले दिएको जानकारीअनुसार आइतबार बिहानसम्म देशभर २४ स्थानमा सक्रिय डढेलो फैलिरहेका छन्। तीमध्ये सबैभन्दा ठूलो डढेलो राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको बायोबियो र न्युव्ले प्रदेशमा फैलिएको हो।
राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, “गम्भीर रूपमा फैलिरहेको डढेलोलाई मध्यनजर गर्दै न्युव्ले र बायोबियो प्रदेशमा आपतकालीन अवस्था घोषणा गरिएको छ। नागरिकको सुरक्षाका लागि सबै स्रोत–साधन प्रयोग गरिनेछ।”
हालसम्म करिब ८ हजार ५०० हेक्टर क्षेत्रफल जलेर नष्ट भइसकेको छ। तीव्र हावा, उच्च तापक्रम र सुख्खा मौसमका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। सान्टियागोदेखि बायोबियोसम्म तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
डढेलो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सेना, प्रहरी र उद्धारकर्मीहरू खटिएका छन्। सरकारले राहत, उपचार र पुनःस्थापनाका लागि विशेष योजना लागू गर्ने जनाएको छ।
उल्लेखनीय छ, यस वर्षको सुरुदेखि नै चिली र अर्जेन्टिनामा अत्यधिक गर्मी र तातो हावाको लहर चलेको छ, जसका कारण विभिन्न स्थानमा विनाशकारी डढेलो फैलिँदै आएको छ।
