गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। उहाँको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको निकट चलचित्रकर्मी राजेश घतानीले जानकारी दिनुभएको छ। उहाँका अनुसार तामाङ आफ्नै अपार्टमेन्टमा अचानक अचेत भएपछि अस्पताल लैजाने प्रयास गरिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इन्डियन आइडल विजेता तामाङ नेपाली कला क्षेत्रका अत्यन्तै लोकप्रिय र सम्मानित कलाकार हुनुहुन्थ्यो। भारतीय संगीत प्रतियोगिता इन्डियन आइडल जितेपछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चर्चित बन्नुभएको थियो भने नेपालमा पनि उहाँका गीतहरू युवापुस्तामाझ अत्यन्त लोकप्रिय बनेका थिए। उहाँको सरल स्वभाव, प्रेरणादायी संघर्ष र संगीतप्रतिको समर्पणले लाखौँ दर्शक–श्रोताको मन जितेको थियो।

४३ वर्षीय तामाङले नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट नेपाली फिल्म अभिनयमा डेब्यू गर्नुभएको थियो। त्यसपछि उहाँले ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्ममा पाश्र्वगायन गर्नुभयो। अभिनयतर्फ उहाँले ‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ भाग १ र २ जस्ता चलचित्रमा अभिनय गर्नुभएको थियो। त्यस्तै ‘दिल’, ‘अनमोल छन्’ र ‘हिम्मत २’ मा उहाँको पाश्र्वगायन रहेको छ।

नेपाली फिल्मसँगै तामाङले बलिउडमा समेत आफ्नो उपस्थिति जनाउनुभएको थियो। उहाँले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गर्नुभएको थियो। सो फिल्मको छायांकन सम्पन्न भइसकेको र उहाँ डबिङको तयारीमा रहनुभएको बताइएको छ।

संगीत र अभिनय दुवै क्षेत्रमा सक्रिय रहँदै आउनुभएका तामाङ पछिल्लो समय नयाँ गीत तथा फिल्मका परियोजनामा व्यस्त हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले बताएका छन्।

प्रशान्त तामाङको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा कलाकार, राजनीतिज्ञ, शुभेच्छुक तथा प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।