गाजामा युद्धविराम गर्न इजिप्टमा इजरायल-हमासबीचअप्रत्यक्ष संवादसुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा युद्ध अन्त्य योजना कार्यान्वयन गर्न इजरायल र हमासबीच इजिप्टमा सुरु भएको हो । सुरु अप्रत्यक्ष वार्तामा पहिलो प्राथमिकता बन्धकहरुको मुक्तिलाई दिइएको छ । इजिप्टको राज्य–सम्बद्ध सञ्चारमाध्यम अल–काहेरा न्युजका अनुसार सोमबारबाट सुरु वार्ता इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा भइरहेको हो । यो वार्ता मंगलबार पनि हुँदैछ ।
वार्तामा हमासका प्रतिनिधि र इजरायली अधिकारी सहभागी छन् । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण गरिरहेका छन् । प्रारम्भिक चरणमा दुवै पक्षले बाँकी रहेका ४८ जना इजरायली बन्धकको रिहाइका लागि करिब २ हजार प्यालेस्टिनी कैदीहरूको साटासाटबारे छलफल थालेका छन् ।
तीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । ुदुवै पक्षबीच बन्धक छुटाउन लागि संयन्त्र तयार गर्न प्रयास भइरहेको छ,ु अल–काहेरा न्यूजले उद्धृत गर्दै इजिप्टका एक अधिकारीले भने । उनका अनुसार हमासले बन्धकहरू समय अगावै मुक्त गरेपछि आफ्नो प्रभाव गुम्ने चिन्ताले सावधानी अपनाइरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । ुहामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्याउने अपेक्षा गर्छौं, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायलसँग भनेका छन् ।
इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहूका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र गल हिर्श सहभागी छन्। मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिला मन्त्री रोन डर्मर वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ। प्रस्तावमा गाजामा रहेका इजरायली सेनालाई फिर्ता गर्ने विषय पनि छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको थियो । कान्तिपुरबाट
