काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले भनिन्, “हो, उहाँको राजीनामा आएको हो । मलाई नै बुझाउनुभएको छ ।”

राजीनामा बुझाएसँगै मेयर शाह केहीबेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्ने तयारीमा छन् । हाल रास्वपा कार्यालयमा कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूको बाक्लो भिड लागेको छ ।

दिउँसो १ बजे नै कार्यालय पुग्ने भनिए पनि राजीनामा र आगामी राजनीतिक कदमबारे अन्तिम निर्णय गर्न समय लागेकाले केही ढिलो भएको स्रोतले जनाएको छ ।

राजीनामापछि बालेन शाह रास्वपामा औपचारिक रूपमा प्रवेश गर्ने तयारीमा छन् । उनी रास्वपाका वरिष्ठ नेताका रूपमा समाहित भइसकेका छन् भने आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।रास्वपा कार्यालयमा बालेन शाहलाई स्वागत गर्ने विशेष कार्यक्रम राखिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, “आजै उहाँलाई पार्टी कार्यालयमा स्वागत गरिनेछ । त्यसपछि उहाँ आजै जनकपुर जाने कार्यक्रम पनि तय भएको छ ।”मेयरको रूपमा बालेन शाहले काठमाडौं महानगरपालिकामा विभिन्न सुधारका प्रयास, सुशासन र विकासका अभियान सञ्चालन गर्दै आएका थिए ।

उनको राजीनामासँगै महानगरपालिकाको नेतृत्व र देशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । अब उनको नयाँ राजनीतिक यात्राले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो सर्वत्र बढेको छ ।