काठमाडौं। नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्र बिहान ८ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ हुने छ।
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सम्पन्न भएको थियो। विधान महाधिवेशन गत भदौमै सम्पन्न भइसकेकाले आजदेखि एमाले सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो।
नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार रहेका छन्। सकेसम्म सहमतिका आधारमा र सहमति जुट्न नसके मतदान प्रक्रियामार्फत् नेतृत्व चयन गर्ने तयारी एमालेको छ। मतदान आवश्यक परेमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने पार्टीले जनाएको छ।
