काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट तीन महिनाअघि मात्र पारित गरिएको विधान पुनः संशोधन हुने भएको छ ।

एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौँ महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान संशोधनपछि एमालेको पदाधिकारी संख्या १९ रहनेछ । जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने निर्णय गरिएको छ ।

यसअघि पनि एमालेमा पदाधिकारी संख्या १९ नै थियो । तर भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय गरेको थियो । अन्तिम अवस्थामा भने उक्त निर्णय उल्ट्याउँदै पदाधिकारी संख्या यथावत राख्ने निर्णय गरिएको हो ।

विधान संशोधनसँगै यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ भने महासचिव र उपमहासचिवको संरचना यथावत राखिएको छ । दशौँ महाधिवेशनमा पनि एक महासचिव र तीन उपमहासचिव रहने व्यवस्था गरिएको थियो ।

उपाध्यक्षको संख्या भने घटाइएको छ । यसअघि ६ जना रहेका उपाध्यक्ष अब ५ जना मात्र रहनेछन् । त्यस्तै, सचिवको संख्या ७ बाट बढाएर ९ पुर्‍याइएको छ ।

एमालेका एक नेताका अनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्याबारे यसअघि बसेको पोलिटब्यूरो बैठकमै छलफल भएको थियो । त्यस बेला संरचना नघटाउने दिशामा छलफल अघि बढेको थियो ।

आजको केन्द्रीय कमिटी बैठकमा पनि फ्लोर खुला हुनासाथ केही नेताहरूले विधान संशोधन आवश्यक रहेको धारणा राखेका थिए । प्रस्तावमाथि निर्णय भएपछि भने इतर पक्षका नेताहरूले विरोध जनाएका छन् ।