काठमाडौँ । नेकपा (एमाले)को टिकटबाट काठमाडौँ महानगरपालिकाको उपमेयर निर्वाचित सुनिता डंगोल पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनकी प्रतिनिधि मनोनित भएकी छिन । एमाले केन्द्रीय कमिटीले उहाँलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गरेको हो ।

एमालेले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनित गरेको छ । सार्वजनिक गरिएको सूचीमा डंगोलको नाम ४९औँ नम्बरमा समावेश छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनबाट काठमाडौँ महानगरपालिकाको उपमेयर निर्वाचित भएकी हुन ।

सुरुमा स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी घोषणा गर्नुभएकी डंगोललाई अन्तिम समयमा एमालेले उपमेयर पदको उम्मेदवार बनाएको थियो ।

सन् २०११ मा ‘मिस नेवा’को उपाधि जित्न सफल डंगोल नेवारी सम्पदा संरक्षण अभियन्ताका रूपमा पनि परिचित छिन । उनीसहित १०८ जना पार्टीका विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका प्रतिनिधिहरू महाधिवेशनका लागि मनोनित भएका छन् ।

एमालेको शुक्रबार बसेको सचिवालय बैठकले महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको थियो । सोही सहमतिअनुसार शनिबार बिहान मनोनीत प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको हो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । भोलि र पर्सीसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।