काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान पाँचौँ दिन पनि जारी छ । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको मतदानमा साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार मतदाताले मतदान गर्न छिटोमा ९ मिनेटदेखि ढिलोमा २ घण्टा ४ मिनेटसम्म समय लिएका छन् । ‘मतदान औसतमा ३५ मिनेटभित्र सम्पन्न हुने अनुमान थियो, तर सबै मतदातामा प्राविधिक जानकारी समान नभएकाले केही ढिलाइ भएको छ,’ उनले बताए ।
मतदान आज रातभर निरन्तर चल्ने बताउँदै पोखरेलले साँझ ८ बजेसम्म टोकन लिएर लाइनमा उभिएका मतदातालाई मतदान स्थलमा प्रवेश गराइने स्पष्ट पारे ।
एमालेमा कुल २ हजार २६३ प्रतिनिधि मतदाता रहेका छन् । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
फोटो अनलाईन खबरबाट
