काठमाडौं । नेकपा (एमाले) आगामी माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ। काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा सहभागी हुने सन्देश दिइने पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। एमालेले निर्वाचनमा नजाने भनेर कहिल्यै नभनेको उल्लेख गर्दै उहाँले निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताउनुभयो।

सचिब बस्नेतले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार तथा भागेका कैदी अझै फिर्ता हुन नसकेको उल्लेख गर्दै मुलुकको सुरक्षा अवस्था चिन्ताजनक रहेको बताउनुभयो। प्रहरी, प्रशासन, न्यायालय र सेनाको मनोबल कमजोर भएको उहाँको भनाइ छ।

उहाँले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेको दललाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी वकिल कार्यालयको निर्णयले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि हुने दाबी गर्नुभयो।

सरकारका मन्त्रीहरूको गतिविधि र अभिव्यक्तिले काँग्रेस–एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको उहाँको जिकिर छ। “नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङ ठूला दलका कारण सम्भव भएन भन्ने जस्ता अभिव्यक्ति एमाले–काँग्रेसलाई कमजोर पार्ने नियतले आएका छन्,” उहाँले भन्नुभयो।