काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयारी सम्पन्न भएको एमालेले जानकारी गराएको छ । महाधिवेशन उद्घाटन हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा रहेको चौरको एमाले उच्चस्तरीय टोलीले निरीक्षण गरेर तयारी सम्पन्न भएको जानकारी गराएको हो ।

निरीक्षण टोलीमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमसहितका नेताहरू सहभागी थिए। टोलीले कार्यक्रमस्थलका मञ्च, संरचना, प्रवेशमार्ग, सुरक्षा तथा व्यवस्थापनसम्बन्धी पूर्वाधारहरूको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरे ।

उद्घाटनस्थलमा करिब दुई लाख मानिस अट्न सक्ने अनुमान गरिएको उपमहासचिव ज्ञवालीले निरीक्षणपछि बताएका हुन्। उनका अनुसार महाधिवेशनमा देशभरबाट करिब १ लाख ५० हजार कार्यकर्ता उपस्थित हुने अनुमान छ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार मञ्च तथा कार्यक्रमस्थलका संरचना निर्माणका लागि आवश्यक योजनाबद्ध तयारीहरू थालिएको छ। उनले करिब ६०० स्वयंसेवक पोसाकमा खटिने र सम्पूर्ण व्यवस्थापन जिम्मेवारी सम्हाल्ने बताए।

यसैबीच, बिहीबार बसेको नेकपा (एमाले) विधान महाधिवेशन मुल समारोह समितिले पनि पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनका सबै तयारी पूरा भएको जानकारी दियो ।

पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईका अनुसार शुक्रबार दिउँसो १२ः१५ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन्। उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गरिने छ भने दोस्रो दिन अर्थात् असोज १६ गते समूहगत छलफलका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

समारोह समितिका अनुसार विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।