काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो साढे ३ बजे फाइनल खेल सुरु हुनेछ।
यसअघि साविक विजेता जनकपुर बोल्ट्स बाहिरिएपछि नयाँ च्याम्पियन बन्ने सुनिश्चित भइसकेको छ। लुम्बिनी लायन्स नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा छ भने सुदूरपश्चिम रोयल्स उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्दैछ।

लिग चरण प्रदर्शन हेर्दा रोयल्स बलियो
लिग चरणका सात खेलमध्ये चार खेल जित्दै क्वालिफायर–१ मार्फत फाइनल नजिक पुगेको रोयल्स यसअघि पनि उपविजेता बनेको टोली हो। गत वर्ष जनकपुरसँग पाँच विकेटले हार बेहोरेको रोयल्स यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।
लायन्सले पनि उत्कृष्ट पुनरागमन गरेका छन्। लिग चरणका चार खेलमा जित निकाल्दै इलिमिनेटर र दोस्रो क्वालिफायर जितेर फाइनल स्थान सुरक्षित गरेको लुम्बिनी गत संस्करणमा लिगमै बाहिरिएको थियो।

सिजनमा रोयल्सले एकपटक लायन्सलाई सात विकेटले पराजित गरिसकेको छ। गत संस्करणमा पनि रोयल्सले ४५ रनले जितेको थियो। आजको तेस्रो भिडन्तले नयाँ इतिहास जन्माउनेछ।
उपाधिका लागि दुवै टिमका कप्तानहरूले आफ्नो जितको दाबी प्रस्तुत गरेका छन्। रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी भन्छन्, “गत वर्ष फाइनलमा चुकेका हौँ। कमजोरी सुधारेर यसपटक उपाधि जित्ने हाम्रो लक्ष्य छ।” त्यसैगरी, लायन्सका कप्तान रोहित पौडेल लगातार पाँच जितसँगै आफूहरू लयमा रहेकाले ट्रफी उठाउने आफूहरूको दाबी पेस गर्छन्।
रोयल्सका प्रमुख खेलाडी
- अभिनाश बोहरा (बलर) — ८ खेलमा १६ विकेट, ‘डेथ–ओभर स्पेसलिस्ट’
- हर्मित सिंह (अलराउन्डर) — १२ विकेट, १ अर्धशतकसहित १२३ रन
- विनोद भण्डारी (ओपनर) — २६४ रन, सर्वाधिक रनकर्ता सूचीमा दोस्रो
- दीपेन्द्रसिंह ऐरी (कप्तान, अलराउन्डर) — ८ विकेट, १४९ रन
- स्कट कुग्गेलेइजन — १० विकेट, उत्कृष्ट शुरुआती बलिङ
लायन्सका प्रमुख खेलाडी
- रोहित पौडेल (कप्तान) — २६० रन, २ पटक प्लेयर अफ द म्याच
- डार्सी सर्ट (विदेशी खेलाडी) — २४२ रन
- शेर मल्ल (बलर) — १४ विकेट, २ पटक प्लेयर अफ द म्याच
- रुबेल ट्रम्पेलम्यान — १२ विकेट, ६५ रन
पुरस्कार राशि
- विजेता: रु १ करोड १० लाख
- उपविजेता: रु ५१ लाख
- तेस्रो: रु २५ लाख
- चौथो: रु १५ लाख
