एनआरएनए न्युजिल्याण्डले आगामी अप्रिल १८ मा न्युजिल्याण्डको क्राइस्टचर्च सहरमा आयोजना गर्न लागेको ‘नेपाल फेस्टिभल २०२६’ को तयारी तीव्र रूपमा अघि बढेको छ । नेपाली संस्कृति, समुदाय र आपसी सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

क्राइस्टचर्च सेन्ट्रल सिटीस्थित ४५५ ह्याग्ली एभिन्यूमा हुने यस महोत्सवको पोस्टर आज सार्वजनिक गर्दै एनआरएनएले दिएको जानकारीअनुसार महोत्सवका दिनभरि विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् । आयोजकका अनुसार प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, परम्परागत तथा आधुनिक नृत्य, नेपाली मौलिक परिकारका स्टल, बजार स्टल, सांस्कृतिक प्रदर्शनी तथा परिवारमैत्री गतिविधिहरू समावेश गरिनेछन् ।

सार्वजनिक पोस्टरअनुसार महोत्सवको विशेष आकर्षणका रूपमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुति रहनेछ । कार्यक्रमको शीर्ष प्रायोजकका रूपमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा रहेको छ भने स्वर्ण प्रायोजकमा दुर्गेश अधिकारी (मोर्टगेज सल्लाहकार, क्राइस्टचर्च) रहेका छन् ।

महोत्सव विभिन्न संघसंस्था तथा सामुदायिक संस्थासँगको सहकार्यमा आयोजना गरिँदैछ । मिडिया साझेदारका रूपमा हिमालपारी मिडिया ग्रुप लिमिटेड अन्तर्गत हिमालपारी डट कम र हिमालपारी टिभी युट्युब च्यानल संगै एनजेडन्युजनेपाल डटकम रहेका छन् । यसैगरी क्यानबेरास्थित नेपाली राजदूतावास, न्युजिल्याण्डका लागि मानार्थ नेपाली वाणिज्य दूतावास, क्राइस्टचर्च सिटी काउन्सिल, पब च्यारिटी तथा बुद्ध ट्राभल एण्ड टुर्सले कार्यक्रमलाई सहयोग गरेका छन् ।

आयोजकले सम्पूर्ण नेपाली समुदाय तथा अन्य समुदायका व्यक्तिहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।