एडिलेड — सन् २०२७ को मार्चमा दक्षिण अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने सातौँ ओशनिया नेपाली खेलकुद महोत्सव (ओएनएसएम–२०२७) का टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज, एडिलेड बन्ने भएको छ।
आयोजक समितिका मिडिया संयोजक बालगोपाल उपाध्यायले हिमालपारीलाई दिएको जानकारीअनुसार एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजलाई औपचारिक रूपमा प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरिएको हो। एक्सपर्टको सहकार्यले महोत्सवलाई अझ भव्य, व्यवस्थित र स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ।
“यो साझेदारी ओसनिया क्षेत्रकै सबैभन्दा ठूलो नेपाली खेलकुद महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा महत्वपूर्ण उपलब्धि हो,” मिडिया संयोजक उपाध्यायले भने, “प्रतियोगितालाई सफल बनाउन धेरैभन्दा धेरै व्यक्ति र समूहलाई जोड्ने प्रयास गरिरहेका छौँ।”
उनका अनुसार प्रतियोगितामार्फत अष्ट्रेलिया, न्युजिल्याण्ड तथा ओसनिया क्षेत्रका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका खेलाडी, परिवार तथा समुदायलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ।
आफ्नो दीर्घकालीन दृष्टिकोणमा विश्वास गर्दै महोत्सवको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेकोमा एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज, एडिलेड प्रति आयोजक समितिले आभार व्यक्त गरेको पनि उपाध्यायले बताए।
