राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य व्यवसायलाई कमजोर बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई मजबुत बनाउने रहेको स्पष्ट पारे ।

उनका अनुसार सुशासन अभियानलाई तीव्र रूपमा अघि बढाउने क्रममा केही प्रश्न र अनुसन्धान व्यवसायीहरूमा पुगेको हुन सक्छ, तर त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । “सरकारको कुनै पनि व्यवसायीलाई हतोत्साही बनाउने वा उसको व्यवसाय धराशायी बनाउने उद्देश्य छैन,” उनले भने, “तपाईंहरू निर्धक्क भएर आफ्नो काममा लाग्नुस्, अनावश्यक डर लिनुपर्ने अवस्था छैन ।”

लामिछानेले विगतको राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेको यथार्थलाई सरकारको ध्यानमा रहेको बताए । त्यस्तो अवस्था अब नदोहरिने विश्वास दिलाउँदै उनले नीतिले नै व्यवसायीहरूको सुरक्षा गर्ने दाबी गरे । तर, अर्थतन्त्रलाई कमजोर बनाउने, संस्थाहरू कब्जा गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुने प्रवृत्तिप्रति राज्यले कडाइका साथ निगरानी राख्ने उनको चेतावनी थियो ।

उनले उद्योगी व्यवसायीहरूलाई आफ्ना विगतका गतिविधिहरूको आत्ममूल्याङ्कन गर्न पनि आग्रह गरे। “तपाईंहरूले एकपटक आन्तरिक लेखापरीक्षण गर्नुहोस्, कहाँ गल्ती भयो भन्ने आफैं हेर्नुहोस्,” उनले भने, “त्यसले नीतिगत सुधारमा राज्यलाई पनि सहयोग पुग्छ ।” विगतमा राजनीतिक दबाब र परिस्थितिका कारण केही काम कानुनी दायराभन्दा बाहिर जान सक्ने स्वीकार गर्दै उनले अब ‘कटअफ पोइन्ट’ मा पुगिसकेको र नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सरकार वाचापत्रका आधारमा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले त्यसबाट दायाँबायाँ नजाने प्रतिबद्धता दोहोर्‍याए । “जनताले हामीलाई वाचा देखेर भोट दिएका हुन्, हामी त्यसैअनुसार चल्छौं,” उनले भने। साथै, अब व्यवसायीहरूले समस्या लिएर नेताको घरघरमा धाउनुपर्ने अवस्था अन्त्य हुने पनि उनले बताए ।

लामिछानेले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेको भन्दै उद्योगी व्यवसायीहरूलाई निर्धक्क भएर लगानी र व्यापार विस्तार गर्न आग्रह गरे । आगामी ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक हुने उनको भनाइ थियो । “सरकार र निजी क्षेत्र मिलेर काम गरे मात्र अर्थतन्त्र सबल बन्छ,” उनले जोड दिए ।