इरानको गुप्तचर निकायले संयुक्त राज्य अमेरिकासँग युद्ध अन्त्य गर्ने विषयमा वार्ता खोल्न सक्ने संकेत पठाएको दाबी गरिएको छ। अप्रत्यक्ष सन्देशबारे जानकार स्रोतहरूका अनुसार ती सन्देश तेस्रो देशमार्फत केन्द्रीय गुप्तचर संस्था (सिआइए) सम्म पुर्याइएको हो।
तर अमेरिकी अधिकारीहरूले भने हाल कुनै पनि प्रकारको वार्ता सुरु नभएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार सम्भावित “निकास मार्ग” निकट भविष्यमै कार्यान्वयन हुने सम्भावना न्यून छ।
स्रोतहरूका अनुसार सन्देश आदान–प्रदान भए पनि हालसम्म युद्ध अन्त्यका विषयमा कुनै गम्भीर छलफल अघि बढेको देखिएको छैन। बरु अमेरिकी अधिकारीहरूले इजरायलसँगको संयुक्त सैन्य कारबाही नयाँ तथा अझ तीव्र चरणमा प्रवेश गरेको बताएका छन्। उक्त कारबाहीको उद्देश्य इरानको क्षेप्यास्त्र कार्यक्रम कमजोर बनाउनु र उसलाई आणविक हतियार प्राप्त गर्न नदिनु रहेको जनाइएको छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले बुधबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका “अहिलेसम्मको प्रारम्भिक चरणमै रहेको” बताएका छन्। इरानसम्बन्धी प्रशासनको जानकारी पाएका सांसदहरूले पनि कूटनीतिक प्रयाससहितको स्पष्ट अन्तिम रणनीति नसुनेको बताएका छन्।
यता इरानी नेतृत्वले सार्वजनिक रूपमा वार्ताप्रति कुनै तत्परता देखाएको छैन। इजरायली आक्रमणका कारण नेतृत्व तह कमजोर बन्दै गएको अवस्थामा वार्ताको औपचारिक संकेत बाहिर आएको छैन।
इरानका उपविदेश मन्त्री माजिद तख्त–रवाञ्चीले बुधबार एक अन्तर्वार्तामा अमेरिकातर्फ कुनै सन्देश नपठाइएको बताएका छन्। “हामी अहिले आत्मरक्षामा केन्द्रित छौँ। अमेरिकातर्फ कुनै सन्देश पठाइएको छैन र हामीले पनि कुनै सन्देश प्राप्त गरेका छैनौँ,” उनले भने।
अमेरिकी अधिकारीहरूले युद्ध सुरु हुनुअघि आणविक वार्ता विफल भएपछि इरानसँग प्रत्यक्ष वा तेस्रो पक्षमार्फत कुनै संवाद नभएको दाबी गरेका छन्। यद्यपि द्वन्द्व कम गर्न सहयोग प्रस्ताव गर्ने झण्डै दर्जनभर देशबाट सम्पर्क आएको एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ, जसले युद्धअघि इरानसँग तीन चरण वार्ता नेतृत्व गरेका थिए, हाल इरानका विदेश मन्त्री अब्बास अराघ्ची वा राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीसँग सम्पर्कमा नरहेको जनाइएको छ।
यसैबीच इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको निधनपछि नेतृत्व परिवर्तनको प्रक्रिया जारी छ। सम्भावित नयाँ नेतृत्वसँग कुनै सम्झौता सम्भव हुन्छ कि हुँदैन भन्ने विषय अनिश्चित देखिएको छ।
इजरायलका रक्षा मन्त्री इस्रायल काट्जले सामाजिक सञ्जालमार्फत इजरायलविरुद्ध गतिविधि जारी राख्ने जुनसुकै नयाँ नेतामाथि कारबाही गरिने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग वार्ताबारे मिश्रित धारणा व्यक्त गरेका छन्। उनले एक पत्रिकासँगको अन्तर्वार्तामा नयाँ इरानी नेतृत्वसँग कुरा गर्ने इच्छा व्यक्त गरे पनि अर्को दिन सामाजिक सञ्जालमार्फत “ढिला भइसकेको” टिप्पणी गरेका थिए।
पर्दापछाडि सम्भावित समझदारीको मार्ग खोज्ने प्रयास भइरहे पनि तत्काल युद्धविराम वा कूटनीतिक समाधान देखिने संकेत स्पष्ट छैन। स्रोतः सिएनएन
