न्युजिल्याण्डका विदेशमन्त्री वीन्सटन पिटर्सले इरानमाथि भएको सैन्य आक्रमणबारे न्युजिल्याण्डलाई कुनै अग्रिम सूचना नदिइएको जानकारी गराउँदै इरानमा रहेका न्युजिल्याण्डवासीलाई सुरक्षित भए तुरुन्त देश छाड्न आग्रह गरेका छन्। मन्त्री पिटर्सका अनुसार इरानमा हाल ३४ देखि ३८ जना न्युजिल्याण्डवासी दर्ता भएका छन्, तर वास्तविक संख्या यसभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
सरकारले लामो समयदेखि इरानमा रहेका नागरिकलाई देश छाड्न सल्लाह दिँदै आएको र सम्भव भए तत्काल सुरक्षित रूपमा बाहिरिन पुनः अनुरोध गरिएको छ। जोखिमपूर्ण शहरहरूमा यो अत्यन्त कठिन भए पनि ग्रामीण क्षेत्रमा रहेका व्यक्तिले अवसर पाए सुरक्षित स्थानतर्फ जान प्रयास गर्न सक्ने उनले बताए। पुनः उद्धार उडानको सम्भावना रहे पनि हालको अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले तत्काल सम्भव नभएको स्पष्ट पारिएको छ।
अमेरिका र इजरायलको कदमलाई “इरानले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पुर्याउँदै आएको खतरा रोक्नका लागि गरिएको प्रयास” रहेको भन्दै उनले इरानले जवाफी आक्रमण गर्दै कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कुवेत, बहराइन र जोर्डनमाथि गरेको हमलाको निन्दा गरे।
सरकारले पुनः वार्ता सुरु गर्न र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गर्दै इरानी नेतृत्वलाई वार्तामार्फत समाधान खोजेर “इरानलाई पुनः अन्तर्राष्ट्रिय समुदायमा फर्काउने” बाटो रोज्न पनि पिटर्सको आग्रह थियो।
आक्रमणबारे धेरैले आ–आफ्नो धारणा राख्ने भए पनि विधिको शासन कायम हुनु आवश्यक रहेको भन्दै उनले इरानले दशकौँदेखि विभिन्न क्षेत्रमा आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै भने, “यो घटनाको समर्थन होइन, तर यसको पृष्ठभूमि बुझ्न मद्दत गर्ने तथ्य हो।”
स्थिति अझै चर्किएमा न्युजिल्याण्डले के कदम चाल्छ भन्नेबारे बोल्नु अहिले नै हतार हुने उनको भनाइ थियो। उनले न्युजिल्याण्डले अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए।
यसैबीच, मध्यपूर्वमा बढ्दो द्वन्द्वले न्युजिल्याण्डको निर्यात क्षेत्रमा पनि असर पार्ने सम्भावना देखिएको छ। एमफ्याटले उक्त अवस्था न्युजिल्याण्डका निर्यातकर्ताका लागि “अत्यन्त चिन्ताजनक” भएको जनाएको छ। विशेष कृषि व्यापार दूत नेथन गायले युरोप र बेलायततर्फ जाने अधिकांश निर्यात सामग्री मध्यपूर्व हुँदै, विशेषगरी दुबईमार्फत जाने भएकाले समस्या आउन सक्ने बताए।
उनका अनुसार मध्यपूर्व विश्वव्यापी व्यापारको महत्वपूर्ण केन्द्र भएकाले ढुवानी मार्ग, तेलको मूल्य र विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध आउन सक्छ। क्षेत्रभर उडान रद्द हुँदा त्यसको प्रत्यक्ष प्रभाव न्युजिल्याण्डका निर्यातकर्तामा पर्ने उनले उल्लेख गरे।
दुग्धजन्य पदार्थ, रातो मासु तथा बागवानी उत्पादनहरू विशेष रूपमा प्रभावित हुन सक्ने आकलन गरिएको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको भए पनि त्यसको ठ्याक्कै परिमाणबारे अनुमान गर्न हतार हुने अधिकारीहरूले बताएका छन्।
सरकारले अवस्थाबारे थप स्पष्टता आएपछि निर्यातकर्तालाई विस्तृत जानकारी तथा जानकारी बैठक उपलब्ध गराउने जनाएको छ। अहिले परिस्थिति तीव्र रूपमा परिवर्तन भइरहेकाले संयमता अपनाउँदै आधिकारिक सूचनाको आधारमा निर्णय लिन आग्रह गरिएको छ।
