आईसीसी टी–२० विश्वकपअन्तर्गत बिहीबार सम्पन्न समूह चरणको महत्वपूर्ण खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। सुपर–८ चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल निर्णायक खेलमा पूर्ण रूपमा निरीह देखियो। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा कमजोर प्रदर्शन गर्दा नेपालले एकतर्फी हार व्यहोर्न बाध्य भयो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९ ओभर ३ बलमा १२३ रनमा समेटियो। सुरुवातदेखि नै दबाबमा परेको नेपालले नियमित अन्तरालमा विकेट गुमायो। ओपनर कुशल भुर्तेल १० बलमा ५ रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। कप्तान रोहित पौडेलले १४ बलमा २३ रन जोड्दै केही आक्रामक संकेत देखाए पनि लामो इनिङ्स खेल्न सकेनन्। आशिफ शेखले २० बलमा २० रन बनाए भने आरिफ शेखले सर्वाधिक २४ बलमा २७ रन जोडे। दीपेन्द्रसिंह ऐरी १३ औं ओभरमा आउट हुँदा नेपाल ९६ रनको अवस्थामा पुगेको थियो। त्यसपछि लोकेश बम र गुल्सन झा ३–३ रनमै आउट हुँदा मध्यक्रम पूर्ण रूपमा असफल देखियो। करण केसीले ११ बलमा १८ रन जोड्दै अन्तिमतिर केही प्रयास गरे पनि प्रतिस्पर्धी लक्ष्य खडा गर्न पर्याप्त हुन सकेन।

इटालीका बलर क्रिशन कालुगामेजले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट हात पारे। अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए। नेपालले १४० रन आसपासको लक्ष्य बनाउन नसक्दा बलरहरू माथि अतिरिक्त दबाब परेको देखिन्थ्यो।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीका ओपनर एन्थोनी र जस्टिन मोस्काले नेपाली बलिङ आक्रमणलाई पूर्ण रूपमा निष्प्रभावी बनाए। एन्थोनी मोस्काले ३२ बलमा ६२ रन प्रहार गर्दा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे। दुवैले पावरप्लेमै खेल आफ्नो नियन्त्रणमा लिए र ११ ओभर ४ बलमै लक्ष्य पूरा गरे। नेपाली बलरहरूले एक विकेटसमेत लिन सकेनन्। ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए भने नन्दन यादवले १ ओभरमा १२ रन दिए। करण केसीले २ ओभरमा २१ रन र सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए। पावरप्लेमा विकेट लिन नसक्नु र रन रोक्न असफल हुनु हारको मुख्य कारण बन्यो।

यस हारसँगै नेपालको सुपर–८ पुग्ने सम्भावना जटिल बनेको छ। १० विकेटको हारले नेट रनरेटमा ठूलो असर पारेको छ, जसले आगामी समीकरणलाई अझ कठिन बनाएको छ। अब नेपालको ध्यान समूह चरणको अन्तिम खेलतर्फ केन्द्रित हुनेछ, जहाँ उसले बलियो टोली इङ्ग्ल्यान्डको सामना गर्नुपर्नेछ।

इङ्ग्ल्यान्डविरुद्धको खेल नेपालका लागि निर्णायक बन्नेछ। सुपर–८ पुग्ने सम्भावना जीवित राख्न नेपाललाई उत्कृष्ट प्रदर्शन आवश्यक छ। बलियो ब्याटिङ लाइनअप र अनुभवी बलिङ आक्रमण भएको इङ्ग्ल्यान्डविरुद्ध नेपालले सुरुवाती साझेदारी मजबुत बनाउनु, मध्यक्रमलाई स्थिरता दिनु र पावरप्लेमा आक्रामक बलिङ गर्नु अत्यावश्यक हुनेछ। फिल्डिङमा पनि त्रुटि नगरी दबाब सिर्जना गर्न सके मात्र प्रतिस्पर्धात्मक खेल सम्भव हुनेछ।

इटालीसँगको हारले नेपालको विश्वकप यात्रामा गम्भीर धक्का पुगेको छ। अब टोलीले आफ्नो कमजोरी सुधार्दै आत्मविश्वासका साथ मैदान उत्रनुपर्नेछ। इङ्ग्ल्यान्डविरुद्धको खेलले नेपालको यात्रा अघि बढ्ने कि समूह चरणमै सीमित हुने भन्ने स्पष्ट पार्नेछ।