नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा भौतारिने गरेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति संकेत गर्दै अध्यक्ष ओलीले काठमाडौंबाट जितिसकेका व्यक्तिले फेरि त्यहीँबाट चुनाव लड्ने आँट किन नगरेको भन्दै प्रश्न उठाउनुभयो। उहाँका अनुसार काम गर्न नसकेपछि नयाँ ठाउँतिर जानुपर्ने बाध्यता सिर्जना हुन्छ।

झापाको गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै अध्यक्ष ओलीले २६ देखि २९ सालसम्म आफू त्यहीँ संगठन निर्माणको काममा सक्रिय रहेको बताउनुभयो। २०३० सालमा जेल परेपछि केही समय गौरीगञ्ज आउन नपाएको र २०४७ सालको अन्त्यतिरदेखि पुनः नियमित रूपमा त्यस क्षेत्रसँग जोडिएको उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले गौरीगञ्जमा आएको व्यापक परिवर्तनको चर्चा गर्दै विगतको गौरीगञ्ज र अहिले ‘सेल्फी रोड’ का रूपमा चिनिने आधुनिक गौरीगञ्जबीच आकाश–जमिनको अन्तर आएको बताउनुभयो। विकासका पूर्वाधारतर्फ इङ्गित गर्दै उहाँले हुलाकी राजमार्ग आफ्नै पहलका कारण अघि बढेको दाबी गर्नुभयो। उहाँका अनुसार कन्काई नदीको एउटा पुलबाहेक अधिकांश संरचना निर्माण सम्पन्न भइसकेका छन् भने रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेका छन्। केही स्थानमा ठेकेदार र इन्जिनियरिङ त्रुटिका कारण काम ढिला भए पनि समग्र विकास अघि बढिरहेको उहाँको भनाइ थियो।

विगतमा गौरीगञ्जमा बिजुली, सञ्चार र सडकको अवस्था अत्यन्त कमजोर रहेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले हात–हातमा मोबाइल, ४जी सेवा, पक्की सडक, नयाँ पुल, विद्यालय, क्याम्पस र खानेपानीका आयोजनाले जीवनशैली नै परिवर्तन भएको बताउनुभयो।

सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँसम्म पुर्‍याइएको दाबी गर्नुभयो। यद्यपि, पछिल्ला वर्षहरूमा पटक–पटक सरकार परिवर्तन र कमजोर आर्थिक अवस्थाका कारण भत्ता थप बढाउन नसकिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो। हाल सामाजिक सुरक्षामा वार्षिक ३७–३८ अर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको र ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समूहहरू यसबाट लाभान्वित भइरहेको उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले आफ्नै जिल्लाबाट चुनाव लड्न नसक्ने अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाउँदै जनताको विश्वास गुमेपछि त्यहीँ चुनाव जित्न नसकिने स्पष्ट गर्नुभयो। साथै, समाजमा मधेसी–पहाडी जस्ता विभाजनकारी सोच फैलाउने प्रयासप्रति सचेत गराउँदै यस्ता गतिविधिले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने चेतावनी दिनुभयो। उहाँले सामाजिक न्याय र समानताको आधारमा राष्ट्रिय एकता सुदृढ गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।