आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको नेपाल यस पटक जित निकाल्दै प्रतियोगितामा सशक्त पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ। नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा न्युजिल्याण्ड समयअनुसार राति १०:३० बजे सुरु हुनेछ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा लक्ष्य भेट्टाउन नसक्दा चार रनले पराजय भोग्नुपरेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको नेपालले अन्तिम ओभरसम्म रोमाञ्चक प्रतिस्पर्धा गरेको थियो। उक्त प्रदर्शनले नेपाली टोलीको आत्मविश्वास उच्च बनाएको छ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा नेपालले समूह चरणका चारै खेल भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जितविहीन रहेको नेपालले इटालीविरुद्ध जित दर्ता गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। यसअघि दुई पटक विश्वकप खेलिसकेको नेपाल समूह चरण पार गर्न भने सफल हुन सकेको छैन।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमार्फत पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो। दोस्रो पटक विश्वकप खेल्न नेपालले करिब एक दशक कुर्नुपरेको थियो। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको प्रतिस्पर्धात्मक प्रदर्शनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः केन्द्रमा ल्याएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा नेपाल मात्र एक रनले पराजित भएको थियो, जुन खेलले नेपाली टोलीको क्षमता विश्वसामु देखाएको थियो।

यस पटक पनि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाल मैदान उत्रिँदैछ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा इतिहास बनाइसकेका छन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखेडे रंगशालामै हुँदैछन्, जसले समर्थकहरूलाई निरन्तर एउटै मैदानमा टोलीलाई साथ दिन सहज बनाएको छ।

इटाली भने यस संस्करणबाट विश्वकपमा डेब्यु गरिरहेको टोली हो। फुटबलका लागि विश्वप्रसिद्ध इटालीले पछिल्ला वर्षहरूमा क्रिकेटमा पनि प्रगति गर्दै विश्वकपसम्मको यात्रा तय गरेको हो। पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटाली पनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। त्यसैले नेपाल र इटालीबीचको प्रतिस्पर्धा दुवै टोलीका लागि ‘गर या मर’को अवस्थाको खेल बन्ने देखिएको छ।

नेपालले समूह चरणअन्तर्गत आफ्नो तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजसँग र चौथो खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। समूह चरण पार गर्न नेपालका लागि आगामी खेलहरू निर्णायक हुनेछन्।