अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइसीइ) को हिरासतमा डिसेम्बर दोस्रो हप्ता चार जना आप्रवासीको मृत्यु भए सँगै सन् २०२५ मा हिरासतमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । आइसका अनुसार यो जुन सन् २००४ यताकै उच्च हो।

मृत्यु हुने आप्रवासीहरू ‘हाइटी, निकारागुआ, इरिट्रिया र बुल्गेरिया’का नागरिक हुन्। आइसका अनुसार उनीहरूको मृत्यु ‘डिसेम्बर १२ देखि १५’ तारिखबीच भएको हो। घटनाको अनुसन्धान जारी रहे पनि प्रारम्भिक विवरणअनुसार दुई जनाको मृत्यु मेडिकल इमर्जेन्सीपछि र दुई जनाको प्राकृतिक कारणले भएको प्रारम्भिक अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीको सामूहिक निर्वासनलाई प्राथमिकता दिएसँगै हिरासत प्रणाली विस्तार गरिएको छ। निर्वासन प्रक्रियालाई तीव्र बनाउने क्रममा आइसीइ हिरासतको क्षमता रेकर्ड स्तरमा पुर्‍याइएको छ। नोभेम्बरको अन्त्यसम्म करिब ६६ हजार व्यक्ति आइसको हिरासतमा थिए।

आइसीइले जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका सबै व्यक्तिको सुरक्षा र मानवीय व्यवहारप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। तर, डेमोक्र्याट सांसदहरूले हिरासतमा बढ्दो मृत्यु घटनालाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको परिणाम भन्दै आलोचना गरेका छन्। अमेरिकी प्रतिनिधि प्रमिला जयपालले हिरासतमा रहेका व्यक्तिको हेरचाहमा गम्भीर लापरबाही भएको टिप्पणी गरेकी छन्।

यसैबीच, एक संघीय न्यायाधीशले आप्रवासन हिरासत केन्द्रमा कांग्रेस सदस्यहरूलाई अग्रिम सूचना बिना निरीक्षण गर्न रोक लगाउन नपाइने फैसला सुनाएका छन्। सो आदेशपछि डेमोक्र्याट प्रतिनिधि ड्यान गोल्डम्यानले न्यूयोर्क सिटीस्थित लोअर म्यानह्याटनको आइसीइ हिरासत केन्द्रको भ्रमण गरेका छन्।