इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तानाशाह र घमण्डी शासकको संज्ञा दिँदै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पले विश्व राजनीतिमा घमण्डका साथ गलत निर्णय गरिरहेको आरोप लगाएका हुन्।
खामेनीले ट्रम्पलाई इतिहासका तानाशाहहरूसँग तुलना गर्दै घमण्डी शासकहरूको अन्त्य अवश्य हुने बताएका छन्। ‘फिरौन, निमरूद र मोहम्मद रजा पहलवीजस्ता अहंकारी शासकहरूको पतन उनीहरूको घमण्ड चरम सीमामा पुगेपछि भयो। ट्रम्पको पनि त्यस्तै पतन हुनेछ,’ खामेनीले लेखेका छन्।
उनले अमेरिकाले अहिले पनि इरानलाई बुझ्न गल्ती गरिरहेको दाबी गरेका छन्। लाखौं नागरिकको बलिदानबाट बनेको देश भएकाले इरान कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने उनको भनाइ छ।
खामेनीले हालै इरानमा भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा इरानी नागरिक शहीद भएको उल्लेख गर्दै त्यसको आदेश ट्रम्पले दिएको आरोप समेत लगाएका छन्। ‘यसले इरानीहरूको रगत ट्रम्पको हातमा रहेको प्रमाणित गर्छ,’ उनले लेखेका छन्।
