अमेरिकामा आइतबार परेको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभर जनजीवन अस्तव्यस्त बनाएको छ। नेशनल वेदर सर्भिस (NWS) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ र करिब २१ करोड अमेरिकी नागरिक प्रभावित भएका छन्।
हिउँ, असिना र तीव्र हावाहुरीका कारण करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। विशेष गरी टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ३.३७ लाख घर र व्यवसायहरू अन्धकारमा छन्। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन छन्। रुख ढलेका र तार चुँडिएका कारण विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न हप्तौँ लाग्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
अत्यधिक चिसो र आर्कटिक प्रणालीका कारण क्यानडासँग सिमानाका क्षेत्रमा तापक्रम -३७ देखि -४५ डिग्री सेल्सियससम्म झरेको छ। न्यूयोर्ककी गभर्नर क्याथी होचुलले यसलाई ‘हड्डी नै जमाउने’ आर्कटिक आँधीको संज्ञा दिएकी छन्।
उडान र यातायातमा अवरोध
हिम आँधीका कारण हवाइ यातायातमा व्यापक असर परेको छ। ‘फ्लाइटअवेयर’ अनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध आएको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भएका थिए। विशेषज्ञहरूले चेतावनी दिएका छन् कि उडान रद्द र ढिलाइको समस्या अझै केही दिन कायम रहन सक्छ।
सडक यातायात पनि प्रभावित भएको छ। रुख र विद्युत् तार ढलेका कारण प्रमुख सडक अवरुद्ध भएका छन् र सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, जोखिमपूर्ण क्षेत्र नजान र आधिकारिक सूचना पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
आपत्काल र उद्धार कार्य
राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन्। फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (FEMA)ले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली, आपतकालीन सामग्री र कर्मचारी परिचालन गरेको छ।
शिक्षा प्रणाली प्रभावित
न्यूयोर्कमा अत्यधिक हिमपातका कारण सार्वजनिक विद्यालयहरू सोमबार बन्द रहने घोषणा गरिएको छ। मेयर जोहरान ममदानीले विद्यार्थीहरूको लागि ‘रिमोट लर्निङ’ सञ्चालन हुने जानकारी दिएका छन्। करिब ५ लाख विद्यार्थी यस निर्णयबाट प्रभावित हुनेछन्। विद्यालयको भवन बन्द भए पनि अनलाइन माध्यमबाट पढाइ निरन्तर हुनेछ।
सफाई र सुरक्षा कदम
शहरका २,५०० सरसफाइकर्मीहरू १२ घण्टाको शिफ्टमा सडक सफा गर्न खटिएका छन्। ‘स्नो प्लौ’ मेसिनहरू हिउँ जम्ने बित्तिकै परिचालन गरिनेछन्। स्थानीय प्रशासनले सबै प्रमुख सडक, आवागमन मार्ग र सार्वजनिक स्थलहरूको निगरानी र सुरक्षा सुनिश्चित गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।
अत्यधिक चिसो, हिउँ र आर्कटिक आँधीका कारण सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न, जोखिमयुक्त क्षेत्र नजान र मौसमबारे नियमित सूचना पालन गर्न सतर्क रहन आग्रह गरिएको छ।
