न्युयोर्क — अमेरिकाका सात सहरमा बसोबास गर्ने नेपाली मूलका बालबालिका तथा किशोरकिशोरीबीच आयोजित गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ओहायो राज्यको एक्रोन सहरमा डिसेम्बर २० र २१ मा सम्पन्न प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया आर्या खनाल र कोलम्बसकै १३ वर्षीया खुसी अधिकारी विजेता घोषित भएका छन्।

प्रतियोगितामा ओहायोका कोलम्बस, एक्रोन र सिन्सिनाटी तथा पेन्सिलभेनियाका ह्यारिसबर्ग, ल्यानकास्टर, पिट्सबर्ग र स्क्रान्टन सहरबाट छनोट भएका प्रतिभाहरूले सहभागिता जनाएका थिए।

गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो र कोलम्बसका कुन्जन सुवेदी तेस्रो स्थानमा रहे भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाईं दोस्रो र ह्यारिसबर्गकी सामन्था क्षेत्री तेस्रो स्थानमा रहन सफल भए।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले अमेरिकामै जन्मे–हुर्केका नेपाली मूलका बालबालिका र किशोरकिशोरीलाई नेपाली कला, संस्कृति र पहिचानप्रति जोड्ने उद्देश्यले विगत एक दशकदेखि यस्ता कार्यक्रम निरन्तर आयोजना हुँदै आएको बताए। उनले नेपाली संस्कृतिको पुस्तान्तरणका लागि सामूहिक प्रयास आवश्यक रहेको पनि उल्लेख गरे।

फाउन्डेसनले हाल सात सहरमा नेपाली नृत्य तथा संगीतका कक्षा सञ्चालन गरिरहेको छ, जसमा करिब १,३०० नेपाली मूलका बालबालिका तथा किशोरकिशोरी अध्ययनरत छन्।

‘इन्टर स्कुल नृत्य तथा गायन प्रतियोगिता २०२५’ शीर्षक दिइएको यस प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य तथा समूह नृत्यतर्फ प्रथम हुनेले ३ हजार अमेरिकी डलर, दोस्रो हुनेले २ हजार अमेरिकी डलर र तेस्रो हुनेले १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

गायनतर्फ गायिका अन्जु पन्त, सुजता बर्मा र गायक अर्जुन रसाइली निर्णायक थिए भने नृत्यतर्फ अभिनेता दिलिप रायमाझी, अभिनेत्री सारंगा श्रेष्ठ र नृत्यविद् आरती शर्मा निर्णायकका रूपमा रहेका थिए।

कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ सात सहरबाट छनोट भएका २२ जना, नृत्यतर्फ ३४ जना तथा समूह नृत्यतर्फ ६ समूहबीच अन्तिम चरणको प्रतिस्पर्धा गरिएको थियो।