अकल्याण्डको केन्द्रभागमा बसोबास तथा कामकाज गर्दै आएका घरविहीन नागरिकहरूले सडकआश्रित व्यक्तिलाई जबर्जस्ती हटाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार साँझ करिब तीस जना युवायुवती करङ्गाहापे सडकस्थित सेन्ट केभिन भवन परिसरमा सुत्ने झोला बोकेर शान्तिपूर्ण धर्नामा बसे। उनीहरूले “हातकडी होइन, घर चाहिन्छ”, “अपराधीकरण होइन, हेरचाह चाहिन्छ”, “सुत्नु अपराध होइन” जस्ता नारा लेखिएका पाटी प्रदर्शन गरेका थिए।

सरकारले यसै साता प्रहरीलाई केन्द्रिय व्यापारिक क्षेत्र मात्र नभई देशभरका सहर तथा बजार क्षेत्रमा सडकमा बस्ने, माग्ने वा अव्यवस्थित व्यवहार देखाउने व्यक्तिलाई त्यहाँबाट हटाउने अधिकार दिने निर्णय सार्वजनिक गरेको छ। आदेश नमानेमा दुई हजार डलरसम्म जरिवाना वा तीन महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

धर्ना आयोजक सङ्गीतकर्मी तथा अभियन्ता ज्याज्मिन मेरीले सडकआश्रित समुदायप्रति ऐक्यबद्धता जनाउन आफूहरू भेला भएको बताइन्। उनका अनुसार समुदायको साथमा उभिनु र सरकार तथा स्थानीय व्यवसायीलाई जनआवाज सुनाउनु आवश्यक रहेको छ।

अर्का सहभागी चौबीस वर्षीय मार्स कुकले आफू पहिले घरविहीन रहेको अनुभव सुनाउँदै अहिले आवास पाएको व्यक्तिको हैसियतले सचेतना फैलाउन धर्नामा बसेको बताए। उनले सस्तो र सुरक्षित आवासको अभाव नै केन्द्रभाग र समग्र अकल्याण्डको प्रमुख समस्या भएको उल्लेख गरे।

तेइस वर्षीया रिकी ड्युस्टोले भाडा तिर्न कठिन भइरहेको भन्दै सडकमा पुग्ने अवस्था कसैलाई पनि छोटो समयमै आउन सक्ने बताइन्। उनका अनुसार कसैलाई एक स्थानबाट अर्को स्थानतर्फ सार्नु समस्याको समाधान होइन, यसले झन् अपमान र आक्रोश बढाउनेछ।

यसैबीच अकल्याण्ड सिटी मिसनकी प्रमुख कार्यकारी हेलेन रोबिन्सनले अकल्याण्ड परिषद्लाई घरविहीनताको अवस्थाबारे जानकारी दिँदै ‘हटाउ आदेश’ लागू भए सहयोग सेवामा पहुँच अवरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरिन्। उनका अनुसार संस्थाको भवन केन्द्रभागमै रहेकाले आदेशका कारण सेवाग्राही त्यहाँ पुग्न नसक्ने जोखिम छ। संस्थाले आफ्नो भवनलाई कानुनी रूपमा सुरक्षित आश्रयस्थलका रूपमा मान्यता दिलाउने विषयमा पनि अध्ययन गरिरहेको बताइएको छ।

प्रदर्शनमा सहभागी तीस वर्षीया अड्री मेले दुई हजार डलर जरिवाना वा तीन महिनाको कैद सजाय अन्यायपूर्ण रहेको टिप्पणी गरिन्। उनका अनुसार केही व्यक्तिसँग विरोधमा बस्ने विकल्प भए पनि धेरै मानिससँग त्यस्तो विकल्प हुँदैन, किनकि उनीहरू सडकमा बस्न बाध्य छन्।

अकल्याण्डको केन्द्रभागमा बढ्दो आवास सङ्कटबीच सडकआश्रित समुदायप्रति कस्तो नीतिगत कदम प्रभावकारी हुन्छ भन्ने बहस अझै तीव्र बन्दै गएको छ।