अकल्याण्ड । नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्यका प्रमुख गायक अमृत गुरुङ नेतृत्वको टोलीलाई बुधबार बिहान न्युजिल्याण्डमा औपचारिक स्वागत गरिएको छ । मंगलबार अबेर साँझ अकल्याण्ड आइपुगेको टोलीलाई आयोजक लाखे इभेन्ट्सले स्थानीय माओरी सांस्कृतिक परम्परा अनुसार ‘हाक्का’ प्रस्तुतिसहित भव्य स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै गायक अमृत गुरुङले न्युजिल्याण्डसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै यहाँको नेपाली समुदायसँग साक्षात्कार गर्न र प्रस्तुति दिन पाउँदा आफू निकै खुशी भएको बताए । उनले गीत–संगीतप्रतिको माया कायम राख्न र जहाँ भए पनि वातावरणलाई माया गर्दै खुशीसाथ बस्न आग्रह गरे ।

कार्यक्रममा न्युजिल्याण्डका लागि नेपाली वाणिज्य दूत दिनेश खड्काले नेपथ्यले भाइरल हुनका लागि नभई नेपाली माटो र आत्मालाई समेटेर संगीत प्रस्तुत गर्ने भएकाले सधैं सबैको मन जित्न सफल भएको बताए ।

स्वागतपछि ब्यान्डका सदस्यहरूलाई अकल्याण्डका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम छ । नेपथ्यले आगामी शनिबार अकल्याण्डमा विशेष प्रस्तुति दिनेछ ।

यसैबीच, कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । करिब १९ सय टिकट बिक्री भइसकेको र अब केही सिट मात्र बाँकी रहेको आयोजकले जनाएको छ। कार्यक्रममा खाना, चिया–कफीका विभिन्न स्टलहरूका साथै कन्सर्टअघि दर्शकलाई आकर्षित गर्न विभिन्न आउटडोर गतिविधिहरू पनि समावेश गरिएका छन् ।

तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नेपथ्यले लोकधुन र आधुनिक संगीतको समिश्रणमार्फत आफ्नै पहिचान बनाएको छ । ‘रेशम’, ‘छेक्यो छेक्यो’, ‘तालको पानी’, ‘जोमसोम बजारमा’ जस्ता चर्चित गीतमार्फत ब्यान्डले देश–विदेशमा व्यापक लोकप्रियता हासिल गरेको छ ।

सामाजिक सन्देश, मौलिकता र सांगीतिक प्रयोगका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत विशेष स्थान बनाएको नेपथ्यको अकल्याण्ड कन्सर्टप्रति यहाँको नेपाली समुदायमा उच्च उत्साह देखिएको छ ।