अध्ययनका क्रममा रहेकी आफ्नी श्रीमतीलाई साथ दिन भिजिट भिसामा न्युजिल्याण्ड आएका शैलेश धिताल यतिबेला अस्पतालको शय्यामा स्वास्थ्यसँगै आर्थिक संकटसँग पनि जुधिरहेका छन्। अकल्याण्ड सिटी अस्पतालमा भर्ना भएका धिताललाई अचानक एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो। शल्यक्रिया सफल भए पनि उपचार खर्चले धिताल र उनको परिवार गम्भीर समस्यामा परेको छ।

भिजिट भिसामा रहेका धितालसँग स्वास्थ्य बीमा नभएकाले उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भएको हो। आर्थिक अवस्था कमजोर रहेको धिताललाई शारीरिक पीडाभन्दा पनि आर्थिक संकटको चिन्ताले पिरोलिरहेको छ।

उनकी श्रीमती झरना पोखरेल विद्यार्थी भिसामा आईसीएल ग्राजुएट बिजनेस स्कूलमा लेभल–७ अध्ययनरत हुनुहुन्छ। उहाँले सार्वजनिक गरेको भावनात्मक सन्देशअनुसार केही दिनअघि शैलेशलाई असह्य पेट दुखाइ सुरु भएको थियो। पीडा सहन नसकेपछि तत्काल अकल्याण्ड सिटी अस्पताल लगिएको थियो। चिकित्सकीय परीक्षणपछि उनलाई एपेन्डिसाइटिस भएको र ढिलाइ नगरी शल्यक्रिया गर्नुपर्ने जानकारी दिइएको थियो। चिकित्सकहरूले ढिलाइ भए ज्यानमै जोखिम हुन सक्ने चेतावनी दिएका थिए।

गम्भीर अवस्थालाई मध्यनजर गर्दै परिवारले आर्थिक पक्ष नसोची तत्काल शल्यक्रियाको स्वीकृति दिएको जनाएको छ। तीन दिन अस्पतालमा भर्ना रहेपछि २ मार्च २०२६ मा शल्यक्रिया सम्पन्न भएको छ र हाल उनी खतरामुक्त छन्। अस्पताल प्रशासनले उपचार तथा शल्यक्रियाको कुल खर्च करिब १५ हजारदेखि २० हजार न्युजिल्याण्ड डलरसम्म पुग्न सक्ने अनुमान गरेको छ। यो आर्थिक तनावले सोचे जस्तो रिकभर हुन सकेका छैनन्। अध्ययनका लागि विदेश आएकी एक विद्यार्थीका लागि यो रकम जुटाउनु सहज छैन र उनको हकमा पनि त्यही भएको हो।

उपचार खर्च धान्न असमर्थ भएपछि झरनाले नेपाली समुदायसमक्ष सहयोगको अपिल गरेकी छन्। “सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ,” भन्दै उनले आर्थिक सहयोग तथा सम्भावित सहयोग सेवासम्बन्धी मार्गदर्शनका लागि अनुरोध गरेकी छन्।

यस गम्भीर अवस्थालाई ध्यानमा राख्दै “हाम्रो एकता इन्कर्पोरेटेड सोसाइटी” ले सहयोग संकलन अभियानको संयोजन सुरु गरेको छ। साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डलगायत यहाँ सक्रिय विभिन्न संघसंस्थाले पनि सहयोगका लागि हातेमालो गर्न अपिल गरेका छन्।

विदेशमा रहेका नेपालीबीचको एकता, सहकार्य र मानवीय भावना यस्ता कठिन घडीमा अझ महत्वपूर्ण हुने उल्लेख गर्दै शैलेश धितालको शीघ्र स्वास्थ्य लाभको कामनासहित सबैलाई सहयोगका लागि अघि बढ्न आग्रह गरिएको छ। हिमालपारी मिडिया ग्रुपले पनि सबै नेपालीलाई मानवीय संवेदनाका आधारमा सहयोग गर्न अपिल गर्दछ।

सहयोगका लागि तलको लिंकमा जान सक्नुहुन्छ https://givealittle.co.nz/cause/emergency-fundraiser-for-sailesh-dhitals-surgery?fbclid=IwY2xjawQUZ-JleHRuA2FlbQIxMQBicmlkETFVRUllUGppSGZKR3VvMjFqc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHpvzHttf4mDAXzXCoGAGOqrDRmDXxNfAZ_Sz53iBfi14laf7jnVocA1W-9WM_aem_gyOripp54tgQvskUEdAUnQ