एपीएफ क्लबकी कप्तान अनिता बस्नेतले पहिलोपटक आयोजना हुन लागिएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि नेपालमै उचाल्ने विश्वास व्यक्त गरेकी छन्। प्रतियोगिता शुक्रबारदेखि पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।\प्रतियोगिताअघि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा कप्तान बस्नेतले टिमले अपेक्षाकृत पर्याप्त प्रशिक्षण नपाए पनि उत्कृष्ट नतिजाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताइन्। “नेपालमै पहिलोपटक साफ क्लब च्याम्पियनसिप हुँदैछ। हामी अत्यन्त उत्साहित छौं। राष्ट्रिय टोलीका खेलका कारण क्लबबाट धेरै प्रशिक्षण गर्न नपाए पनि एकजुट भएर खेले उपाधि जित्न सक्छौं,” उनले भनिन्।

दक्षिण एशियाली महिला फुटबलको स्तरवृद्धिका उद्देश्यले सुरु गरिएको यो पहिलो संस्करणमा नेपालका एपीएफ क्लब, भारतको ईस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भूटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी पाँच टोलीको सहभागिता रहनेछ। यसले क्षेत्रीय महिला फुटबलमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

एपीएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेले पनि उपलब्ध खेलाडीहरूकै सहायतामा उपाधि जित्ने विश्वास व्यक्त गर्दै भने, “हामीसँग जुन खेलाडी छन्, तिनै पर्याप्त छन्। यही टोलीले गत वर्ष घरेलु लिग जितेको हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको झण्डा फरक उचाइमा फहराउने लक्ष्यसहित हामी मानसिक रूपमा पनि पूर्ण तयार छौं।”

भूटानको ट्रान्सपोर्ट युनाइटेडका प्रशिक्षक यशी वाङ्चुक र कप्तान सुनिता राईले घरेलु लिगमा दोस्रो भएको र टोलीका ९९ प्रतिशत खेलाडी राष्ट्रिय टिमका भएकाले राम्रो नतिजाको आशा प्रबल रहेको बताए। पाकिस्तानको कराची सिटी एफसीका प्रशिक्षक अदिल रिज्की र कप्तान मारिया खानले क्लब नयाँ भए पनि नेपाली मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

बंगलादेशी क्लब नासरिन स्पोर्ट्स एकेडेमीका प्रशिक्षक मोनिर हुसेन र कप्तान साजिदा अक्तेरले नेपाली भूमिमा दुईपटक उपाधि जितेको अनुभव रहेका कारण केही मनोवैज्ञानिक दबाब रहेको तर टोलीमा धेरै युवा खेलाडी भएकाले ऊर्जाशील खेल प्रस्तुत गर्ने बताए। भारतीय क्लब ईस्ट बंगाल भने फ्लाइट ढिलाइका कारण पत्रकार सम्मेलनमा सहभागी हुन सकेन।

प्रतियोगिता सिङ्गल राउन्ड–रोबिनका आधारमा हुनेछ। लिग चरणमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले १० हजार अमेरिकी डलर, उपविजेताले ५ हजार डलर तथा अन्य तीन टोलीले दुई–दुई हजार डलर प्राप्त गर्ने एन्फाले जनाएको छ।

सहभागी सबै टोली बुधवारमै नेपाल आइपुगेका छन्। उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदानमा प्रशिक्षण गर्ने तालिका बनाइएको छ। प्रतियोगिताका लागि साधारण प्यारापिटको टिकट मूल्य ३०० रुपैयाँ र भिआइपी प्यारापिटको ५०० रुपैयाँ तोकिएको छ।