काठमाडौँ, सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिमले लगातार दोस्रो पटक उपाधिको नजिक पुगेको हो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको प्रतिस्पर्धी योगफल तयार गरेको थियो। ओपनर विनोद भण्डारी टोलीका शीर्ष स्कोररमा रहे। उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६३ रनको उत्कृष्ट योगदान दिए। साथै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोड्दा हरमित सिंहले १४ रन, डा। इशान पाण्डेले १३ रन र मुख्तार अहमदले १० रन बनाए।

विराटनगरका बलरमध्ये प्रतिश जिसी र मर्चेन्ट डे–लाङ्गेले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट हात पारे, तर कप्तान सन्दीप लामिछाने विकेटविहीन रहे।
१५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमै ७८ रनमा अलआउट भयो। कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेको टोलीका लागि फाफ डु प्लेसिसले ३६ रन बनाए। मर्चेन्ट डे–लाङ्गेले १५ रन र बसिर अहमदले १२ रन जोडे।
सुदूरपश्चिमका स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले समान दुई–दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट हात पारे।
पहिलो क्लिफायरमा पराजित विराटनगर अब फाइनल पुग्न एलिमिनेटरको विजेतासँग खेल्नेछ। बुधबार हुने एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन्।
पहिलो संस्करणको उपविजेता सुदूरपश्चिमले लगातार दोस्रो वर्ष एनपिएलको फाइनल यात्रा दोहोर्याएको छ।
