न्युजिल्यान्डको ते पाती माओरीले आगामी आमनिर्वाचनका लागि आफ्नो चुनावी रणनीति सार्वजनिक गर्दै माओरी मतदातालाई पार्टीका उम्मेदवारलाई प्राथमिकता दिएर उम्मेदवार मत दिन आग्रह गरेको छ। पार्टीले माओरी प्रतिनिधित्व बढाउन उम्मेदवार मत आफ्नो पक्षमा र पार्टी मत वामपन्थी गठबन्धनतर्फ दिनुपर्ने रणनीति अघि सारेको हो।
आइतबार जिस्बर्नस्थित ते पोहो ओ राविरी माराएमा आयोजित औपचारिक चुनावी अभियान शुभारम्भ कार्यक्रममा पार्टीका उम्मेदवार, कार्यसमिति सदस्य तथा समर्थकहरू सहभागी थिए। कार्यक्रममा इकारोआ–राव्हितीबाट उम्मेदवारी दिएकी हेली म्याक्सवेलको चुनावी अभियान पनि सुरु गरिएको थियो।
कार्यक्रममा पार्टीकी सहनेता डेबी ङारेवा–प्याकरले पार्टीको चुनावी रणनीति सार्वजनिक गर्दै “एउटा योजना, दुई मत” रहेको बताइन्। उनले उम्मेदवार मत ते पाती माओरीका उम्मेदवारलाई दिन र पार्टी मतका विषयमा मतदाताले आफूलाई उपयुक्त लागेको निर्णय गर्न आग्रह गरिन्।
“हामीलाई सरकार परिवर्तन गर्न, संसद्मा थप माओरी प्रतिनिधि पुर्याउन र स्वतन्त्र माओरी आवाजलाई अझ बलियो बनाउन ते पाती माओरीका उम्मेदवारलाई उम्मेदवार मत दिन केन्द्रित हुनुपर्छ,” उनले भनिन्।
उनले माओरी निर्वाचन सूचीमा रहेका मतदाताको बढ्दो संख्या वर्तमान गठबन्धन सरकार परिवर्तन गर्ने महत्वपूर्ण शक्ति बन्न सक्ने दाबी गरिन्।
“यो सरकारलाई घुँडा टेकाउने शक्ति तपाईंसँग छ,” उनले समर्थकहरूलाई भनिन्।
सहनेता राविरी वाइतितीले ते ताइ टोकेराउ निर्वाचन क्षेत्रको उदाहरण दिँदै उम्मेदवार मत रणनीतिक रूपमा प्रयोग गर्दा माओरी प्रतिनिधित्व बढाउन सकिने बताए। उनका अनुसार मतदाताले ते पाती माओरीका उम्मेदवारलाई उम्मेदवार मत दिँदा अन्य दलका सूचीमा रहेका माओरी उम्मेदवार पनि संसद्मा पुग्ने सम्भावना बढ्न सक्छ।
वाइतितीले अन्य दलहरूले उम्मेदवार र पार्टी दुवै मत माग्नु आफ्नै पक्षमा बढी मत सुरक्षित गर्ने रणनीति भएको टिप्पणी गरे। उनले त्यसले सरकार परिवर्तनको लक्ष्य हासिल गर्न नसक्ने दाबी गर्दै ते पाती माओरीको रणनीतिले आगामी संसद्मा माओरी सांसदको संख्या १३ सम्म पुग्न सक्ने बताए।
लेबरको असहमति
ते पाती माओरीको रणनीतिप्रति लेबर पार्टीले भने असहमति जनाएको छ। लेबरका वरिष्ठ सांसद तथा माओरी अभियान संयोजक विली ज्याक्सनले ते पाती माओरीलाई लेबरबाट उम्मेदवार मतमा कुनै “पारस्परिक सहयोग” नहुने स्पष्ट पारे।
उनले लेबरले आगामी निर्वाचनमा उम्मेदवार र पार्टी दुवै मत माग्ने अभियानलाई निरन्तरता दिने बताए।
ज्याक्सनले निर्वाचनमा नीति र जनतासँग सम्बन्धित मुद्दाका आधारमा मतदान हुनुपर्ने उल्लेख गर्दै ते पाती माओरीले अघि सारेको रणनीतिलाई आफ्नो दृष्टिकोणबाट उपयुक्त नभएको संकेत गरे।
ते ताइ टोकेराउमा तीन जना सांसद निर्वाचित हुन सक्ने ते पाती माओरीको उदाहरणबारे प्रश्न गर्दा उनले त्यसलाई “अलि बढी दाबी” भएको टिप्पणी गरे।
ज्याक्सनले लेबरको माओरी निर्वाचन अभियान रोजगारी, स्वास्थ्य र आवासका मुद्दामा केन्द्रित हुने बताए। उनले अघिल्लो लेबर नेतृत्वको सरकारका पालामा माओरी लक्षित कार्यक्रम तथा लगानीलाई आफ्नो पार्टीको उपलब्धिका रूपमा प्रस्तुत गरे।
ते पाती माओरी र लेबरबीच सहकार्यको सम्भावना
ते पाती माओरीकी सहनेता ङारेवा–प्याकरले लेबरका माओरी सांसदहरूसँग आफ्नो पार्टीले राम्रोसँग सहकार्य गर्दै आएको र केही विषयमा समान धारणा रहेको बताइन्।
उनका अनुसार दुवै दल श्रमिकको हित, स्वास्थ्य सेवा सुधारलगायत विषयमा सहमत भए पनि ते पाती माओरीको प्राथमिकता दीर्घकालीन संरचनागत परिवर्तन र ते तिरिती ओ वेटाङ्गीलाई राज्य प्रणालीमा स्थायी रूपमा स्थापित गर्नु हो।
“हामी अघिल्लो अवस्था मात्रै फर्काउन चाहँदैनौँ। हामी दीर्घकालीन संरचनागत परिवर्तन चाहन्छौँ,” उनले भनिन्।
वाइतितीले चुनावी अभियानका क्रममा पार्टीले थप धेरै नीतिगत घोषणा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। आगामी निर्वाचनमा माओरी मतदाताको रणनीतिक मतदानलाई आफ्नो पक्षमा परिचालन गर्ने ते पाती माओरीको प्रयासले वामपन्थी दलहरूबीचको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ। Photo: RNZ/Samuel Rillstone
