काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश निर्वाचन क्षेत्रमा अग्रता लिँदै सबैभन्दा ठूलो शक्तिका रूपमा उभिएको देखिएको छ। सार्वजनिक गरिएको पछिल्लो मतपरिणामअनुसार रास्वपाले १०० क्षेत्रमा अग्रता कायम राखेको छ भने १६ क्षेत्रमा जित हासिल गर्दै कुल ११६ सिटमा उपस्थिति देखाएको छ। समानुपातिकतर्फ रास्वपाले २२,४४२ मत प्राप्त गरेको देखिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १० क्षेत्रमा अग्रता र ४ क्षेत्रमा जित हासिल गरेको छ। यससँगै कांग्रेसको कुल सिट संख्या १४ पुगेको छ भने समानुपातिकतर्फ ७,५०५ मत प्राप्त भएको छ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ११ क्षेत्रमा अग्रता र १ क्षेत्रमा जित हासिल गर्दै कुल १२ सिट बनाएको छ। समानुपातिकतर्फ एमालेले २,९९० मत प्राप्त गरेको देखिएको छ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ११ क्षेत्रमा अग्रता र २ क्षेत्रमा जित निकाल्दै कुल १३ सिट हासिल गरेको छ। समानुपातिकतर्फ माओवादी केन्द्रले ९५१ मत प्राप्त गरेको छ।

अन्य दलहरूमध्ये श्रम संस्कृति पार्टी ले ६ क्षेत्रमा अग्रता कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ क्षेत्रमा अग्रता लिएको छ। स्वतन्त्र उम्मेदवारले पनि १ सिटमा अग्रता लिएका छन्।

समानुपातिक मततर्फ राप्रपाले ३,१६९ मत, श्रम संस्कृतिले ९६० मत, अन्य साना दलहरूले थोरै मत प्राप्त गरेका छन्।

हाल देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर प्रारम्भिक परिणामले रास्वपाको उल्लेखनीय उदय र परम्परागत दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।