सिड्नी — सिड्नीमा कार्यरत २५ वर्षीया नर्स चिम्जुरुओके ओकेम्बुनाची को नर्सिङ दर्ता रात्री ड्युटीका क्रममा पटक–पटक सुतिरहेको पाइएको कारण रद्द गरिएको छ। न्यु साउथ वेल्स सिभिल एन्ड एडमिनिस्ट्रेटिभ ट्राइब्युनल (NCAT) ले यसलाई नियमन उल्लंघन तथा गम्भीर पेशागत दुर्व्यवहार ठहर गर्दै उक्त फैसला सुनाएको हो।
अदालतका दस्तावेजअनुसार ओकेम्बुनाची हार्डी एज्ड केयर नामक हेरचाह केन्द्रमा मार्च २०२४ मा कार्यरत रहँदा कम्तीमा छ पटक रात्री ड्युटीका क्रममा सुतिरहेको अवस्थामा भेटिएकी थिइन्। ती शिफ्टहरूमा कुनै सहायक कर्मचारी नभएकाले उनी एक्लै दर्ता प्राप्त नर्सको रूपमा जिम्मेवारीमा थिइन्। एक रातमा उनी करिब ४ घण्टा २४ मिनेटसम्म लगातार सुतिरहेकी पाइएको थियो, जसका कारण बिरामीलाई आवश्यक हेरचाह र औषधि समयमै उपलब्ध गराउन असमर्थ भएको ट्राइब्युनलले जनाएको छ।
NCAT का न्यायाधीशले ओकेम्बुनाचीका क्रियाकलापले बिरामीको स्वास्थ्य र सुरक्षामा “गम्भीर जोखिम” उत्पन्न गरेको निष्कर्ष निकाल्दै हल्का सजाय पर्याप्त नहुने बताएका छन्। त्यसअनुसार उनको नर्सिङ दर्ता रद्द गर्दै कम्तीमा ९ महिनासम्म पुनः दर्ता आवेदन दिन नपाउने आदेश जारी गरिएको छ, जसले उनको स्वास्थ्य क्षेत्रमा भविष्यको करियरमा ठूलो प्रभाव पार्ने देखिन्छ।
आफूमाथि लागेको आरोपबारे प्रतिक्रिया दिँदै ओकेम्बुनाचीले व्यक्तिगत तनाव, अध्ययनको चाप र स्वास्थ्यसम्बन्धी समस्याका कारण यस्तो अवस्था आएको दाबी गरेकी छन्। अपीलका क्रममा उनले भविष्यमा पुनः नर्सिङ पेशामा फर्कने इच्छा व्यक्त गर्दै यस घटनाबाट “ठूला पाठ” सिकेको र आगामी दिनमा काम तथा अध्ययनबीच सन्तुलन कायम गर्ने प्रतिबद्धता जनाएकी छन्।
विशेषज्ञहरूका अनुसार यो घटना स्वास्थ्यकर्मीहरू, विशेष गरी रात्री शिफ्टमा कार्यरत नर्सहरू र विदेशी कामदारहरूका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने विषय हो। अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा सर्वोच्च प्राथमिकता मानिन्छ, जहाँ सही समयमा औषधि, निरन्तर निरीक्षण र छिटो निर्णय क्षमता अनिवार्य हुन्छ। ड्युटीका बेला सुत्नु वा जिम्मेवारीबाट विचलित हुनु पेशागत नियमको उल्लंघन मानिने भएकाले यसले नर्सिङ लाइसेन्स रद्दसम्मको परिणाम ल्याउन सक्ने देखिएको छ।
